बलाबालिकालाई कसरी संस्कार सिकाउने ?

काठमाडौं/२८ असोज-घरमा बिहान बेलुका धुपबत्ती बल्नुपर्छ, बत्ती बलेपछि ढोग्नुपर्छ, मन्दिर छिर्नु अघि जुत्ताचप्पल खोल्नुपर्छ, घरमा आएका पाहुनालाई पानी मात्र भएपनि खान दिनुपर्छ, आफू भन्दा ठूलालाई आदार र सानालाई माया गर्नुपर्छ भन्ने कुरा बालबालिकाहरुलाई सानै उमेरदेखि सिकाइन्छ । बालबालिकालाई संस्कार सिकाउने जिम्मा अभिभावकले पाएका हुन्छन् ।


तर,पछिल्लो समय एकल जीवनशैली र व्यस्तताका कारण अभिभावकहरुले बालबालिकालाई धेरै समय दिन पाउँदैनन् । जसले गर्दा अभिभावकले बालबालिकालाई चाहेर पनि राम्रो संस्कार दिन सकिरहेका छैनन् ।


बालबालिकाहरुले नराम्रो काम गरेमा दोष अभिभावकलाई जान्छ । अभिभावकले राम्रो संस्कार नदिएका कारण बालबालिका बिग्रिएका हुन् भन्ने भनाई हाम्रा लागि नौलो होइन । तर,यदि बालबालिकाले राम्रो संस्कार देखाए त्यसको श्रेय पनि अभिभावकलाई नै जान्छ । बालबालिकालाई कस्तो संस्कार दिने भन्ने जिम्मा अभिभावकको हातमा हुन्छ ।


अभिभावकले कस्तो वातावरणमा,कस्तो संस्कार दिएर हुर्काएका छन् भन्ने कुरा बालबालिकाले देखाउने व्यवहार बताउँछ । अभिभावकले जस्तो कुरा बालबालिकालाई सिकाउँछन्, उनीहरुले त्यही सिक्ने हो । त्यसैले, बालबालिकाका अगाडि आफू कसरी प्रस्तुत हुने भन्ने बारेमा अभिभावकले विचार पु¥याउन आवश्यक छ । बालबालिकाले घरपरिवारबाट पाएको संस्कार र सिकेको व्यवहारले नै भोलिको उसको भविष्य निर्धारण गर्छ ।


सानै उमेरबाट अभ्यास गराउने :
बालबालिकालाई सानै उमेरदेखि नै राम्रो बानी सिकाउनुपर्छ । आफू भन्दा ठूलालाई शिष्टचार गर्न, सानालाई माया गर्न, अरुलाई मान सम्मान गर्न सिकाउनुपर्छ । कोही नयाँ मान्छे भेट्दा नमस्कार गर्न, गुरुलाई आदार गर्न सानै उमेरबाट बालबालिकालाई अभ्यास गराउनुपर्छ । सानो उमेरबाट सिक्दै गएमा ठूलो भएसम्म पनि उनीहरुमा त्यही बानी रहिन्छ । सानोमा सिकेको कुरा उनीहरुलाई ठूलो हुँदा सम्म बानी भइसकेको हुन्छ ।


प्रविधिबाट टाढा राख्ने :
अभिभावकको व्यस्तता र एक्लोपनका कारण अहिले बालबालिकाको साथी बनेको छ, प्रविधि । सानै उमेरमा अभिभावकले बालबालिकालाई प्रविधिसँग सक्षात्कार गराइदिन्छन् । बालबालिकालाई भुलाउनका लागि राम्रो माध्यम सावित भएको प्रविधि । तर, यसको प्रयत्क्ष असर बालबालिकाहरुको व्यवहारमा परेको छ । बालबालिकाहरु अधिकांश समय प्रविधिमा नै लिप्त हुन्छ ।


यसरी प्रविधिमा नै लिप्त हुँदा बालबालिकाहरु सामाजिक हुन सकेका छैनन् । समाजमा राम्रो सम्बन्ध स्थापित गरी समाजमा घुलमिल हुन सकेका छैनन् । प्रविधिको बढी प्रयोगले उनीहरुलाई अल्छी, जिद्दी मात्र नभई एक्लो बनाउँदै लगेको छ भने उनीहरुको व्यवहारमा समेत परिवर्तन ल्याएको छ ।


स्कुलमा पनि संस्कार सिकाउने कि ?
घर बालबालिकाको पहिलो पाठशाला हो भने विद्यालय दोस्रो । घरपछि बालबालिकाले विद्यालयमा धेरै समय बिताउने गर्छन् । विद्यालयले विद्यार्थीहरुलाई परीक्षामुखी शिक्षा मात्र नदिई संस्कारयुक्त शिक्षा दिनुपर्छ । राम्रो संस्कार बिना कुनै पनि सफलता हात पार्न सकिँदैन । त्यसैले, विद्यालयले विद्यार्थीलाई सौद्धान्तिक कुरामा मात्र बढी फोकस नगरी व्यवहारिक र संस्कारयुक्त शिक्षा दिनुपर्छ ।


संस्कारका नाममा यातना दिनुहुँदैन :
अभिभावकले बालबालिकालाई संस्कारी बनाउनका लागि यातना दिने काम भने गर्नुहुँदैन । उनीहरुलाई यस्तो गर्नुपर्छ, यस्तो गर्नुहुँदैन, यो ठिक हो, यो बेठिक हो भन्ने कुरा राम्रो सँग बुझाउनुपर्छ । यदि बालबालिकाले बुझेनन् भने उनीहरुलाई सम्झाउनुपर्छ । तर, यातना दिने, जबर्जस्ती गर्नैपर्छ भन्ने किसिमको व्यवहार अभिभावकले गर्नुहुँदैन । संस्कार सिकाउने नाममा बालबालिकालाई यातना दिँदा उनीहरुले त्यसलाई नकारात्मक रुपमा हेर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *