बालबालिकालाई चाडपर्वमा के के सिकाउने, कसरी सिकाउने ?

  •  
  •  
  •  
  •  
  •  


कास्की/२७ असोज-बाल्यकालमा बालबालिकालाई सबै भन्दा महत्वपुर्ण चाडबाडहरु लाग्ने गर्छ । हरेक मानिसलाई चाडबाड भने पछि स्वाभाविकैले मन पर्छ भने बालबालिकालाई झन मन नपर्ने कुरै भएन । चाडबाड भन्ने बित्तिकै रङगिचङ्गि, मिठामिठा खानेकुरा र नयाँ कपडा लगाउन पाइने जस्ता कुराले बालबालिकालाई रमाइलो लाग्नु स्वाभाविकै हो । चाडकाडको समयमा अभिभावकले हाम्रा संस्कार अनि रितिरिवाज सिकाउदै चाडबाडलाई रमाइलोसँग सिकाउनु नै बाबु आमाको कर्तव्य हुन आउछ ।


हामी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण पनि पहिले पहिले जस्तो धेरै भिडभाड गरेर सबै एकै ठाउँमा जम्मा भएर चाडबाड मनाउने अवस्था छैन तथापी बालबालिकाहरु आफ्ना आफन्त अनि घरपरिवारमा रहँदा सिक्न र सिकाउन सकिने सामान्य कुराहरु अभिभावकले आफ्नो कर्तव्य सम्झेर सहि मार्ग दिनुपर्ने हुन्छ । हामी मध्ये धेरैलाई यो बाध्यात्मक अवस्था आएको छ चाहेर पनि घर बाहिर धेरै घुमघाम गर्ने अवस्था छैन त्यसैले केहि व्यवहारिक कुरा सिक्ने काम मौकाका रुपमा बालबालिकालाइ प्रयोग गरौ ।


धेरै अविभावकहरुले घरमा हिजोका हाम्रा चाडबाड अनि रितिथितिहरु किन र कसरी मनाइन्छ भनेर सिकाउने गर्नु हुन्छ । अहिले बिदाको समय पनि छ बालबालिकाका अनलाइन वा भौतिक कुनै पनि कक्षा भएका छैनन् । तर सबै भन्दा बढी ज्ञान हासिल गर्ने समय यो हुन सक्छ । हुन त अहिले कतिपय बालबालिकाले स्मार्टफोनमा अत्यधिक समय बिताएर बस्ने पनि गरेको पाइन्छ । एकातिर यस्ता कुराहरुमा व्यवस्थापनको चिन्ता छ भने अर्को तिर उनीहरुको न्युनतम हासिल गर्नु पर्ने ज्ञान हासिल गर्न नसकेर पछाडी परेको अबस्था पनि छ । यस्तो अवस्तामा यी सबै कुराको खाडललाइ पुर्ति गर्ने उपयुक्त समय चाडबाडको बिदा हुन सक्छ ।


हामीले चाडबाडमा केवल खसी काट्ने खाने मात्र हो भन्नु उपयुक्त हुदैन । हामीले आफ्ना आफ्ना भगवान वा आफुले मान्दै आएका देवीदेवता प्रतिको संस्कार अनि सम्मान सिकाउने काम गर्नु पर्छ । देवीदेवताको महत्व अनि त्यसबाट हासिल हुन सक्ने ज्ञान सिकाउने कार्य असाध्यै महत्वपुर्ण छ । यो बेला बालबालिकाहरु आफ्ना सबै परिवारका साथसँगै हुनेहँुदा पनि परिवारको महत्व अनि घर परिवारमा रहेका आफू भन्दा ठुलाले गर्ने राम्रा व्यवहारहरु पनि प्रतिबिम्बित हुनेहँुदा पुजापाठका कुराहरु सहि तारिकाले गर्न सकियो भने बालबालिकाले सिकेर ज्ञान हासिल गर्ने र आफ्नो जीवनमा अबलम्बन गर्न सक्छन् । सकेसम्म बालबालिकालाई यो वेला रचनात्मक बनाउँदै हाम्रा धार्मिक एतिहासिक महत्वका कुराहरु सिकाउदै ब्यस्त बनाउनु पर्छ ।


बालबालिकालाई व्यस्त राख्न मात्र नभई उनीहरुको बहुआयमिक क्षमताको विकास गर्न पनि हाम्रा धार्मिक सांस्कृतिक कुराहरुको महत्वलाई दर्शाउनु र व्यावहारिक रुपमा प्रयोग गर्ने बनाउन पनि विभिन्न खाले धार्मिक सांस्कृतिक काममा प्रेरितगर्न सकिन्छ । बालबालिकाको लागी यो फुर्सदको समय भएको हुँदा अब अन्य व्यवहारिक कुरापनि सिक्न प्रेरित गर्न सकिन्छ । जस्तै भान्साका कामहरू तरकारी केलाउन र काट्न सिकाउने, विभिन्न खाने कुरा र परिकार कसरी बन्छ भनी सिकाउने तथा उनीहरुलाई नै गर्न लगाउने, भान्साको सरसफाइ तथा भाँडाकुँडाहरू माझ्न सिकाउने आदि गर्न सकिन्छ । यी काम आफू पनि सँगै मिलेर गरे उनीहरुले रमाइलो मान्छन् यस बाहेक घर र कोठाको सरसफाइका साथै लुगाकपडा, सजावटका सामान, आफ्ना किताब कापी आदि मिलाएर राख्न पनि प्रेरित गर्न सकिन्छ । प्राय गरि यो बेला आफ्नो पुर्खायौली घरमा बालबालिका हुनेहँुदा खेतिबालीका कामहरु वा सानो घर क्षेत्रमा रहेको भए करेसाबारी, कौसी खेतीका कामहरू सिकाउने अवसरका रुपमा पनि यो वेलालाई प्रयोग गर्न सकिन्छ । यस्तै, मान्यजनलाई गर्नुपर्ने व्यवहार, सामाजिक मूल्य मान्यता तथा उमेर र रुचि अनुसार समसामयिक विषय बारे बताएर पनि बालबालिकालाई जानकार बनाउन सकिन्छ ।


बालबालिकाहरू स्वभावैले चञ्चल हुन्छन् यस्तो चञ्चलतालाई खेल तथा व्यायमका माध्यमबाट व्यक्त गराउन सकिए बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक सबै पक्षको विकास हुन पुग्छ । खास गरि अहिले मोबाइल कम्प्युटरको खेलको सट्टामा हिजोका हाम्रा परम्परागत खेलहरु अनि ति खेलहरुको महत्व समेत बालवालिकालाइ सिकाउँदा शारीरिक अनि मानसिक ज्ञानसँगै इतिहास पनि जोगिने हुन्छ । तर, पछिल्लो समय बालबालिका मात्र नभई ठूलाको पनि खेल प्रतिको लगाव डिजिटल डिभाइसहरूमा साँघुरिदै गएको पाइन्छ । यस तर्फ परिवारका सबैजना सचेत भई घर भित्रै परिवारका सदस्यहरू बीच चेस, लुडो, म्युजिकल चेयर, ब्याडमिन्टन र ठाउँ भए सम्म भलिबल, फुटबल, टिटी आदि खेलहरू खेल्न सकिन्छ । यस बाहेक हल्का व्यायम, योगासनहरू गर्न र गराउन पनि यो समय महत्वपूर्ण साबित हुन सक्छ ।


सामान्यतया धेरै जसो अभिभावकले आफ्ना बालबालिकालाई लामो बिदाको वेला पनि कक्षा पाठ्यपुस्तकको अध्ययनका लागि मात्र दबाब दिने गरेको पाइन्छ । तर, बालबालिकाहरू सधै त्यसका लागि तयार हुँदैनन् । खासमा यसरी दबाबदिनु उनीहरूमा तनाव सिर्जना गर्नु मात्र हो । यस्तो अवस्थामा पाठ्यपुस्तकको अध्ययनका साथै उनीहरूको स्तर वा रुचि अनुसारका पुस्तक र पत्रपत्रिका उपलब्ध गराएर बाहिरी अध्ययनका लागि पनि प्रेरित गर्नु उचित हुन्छ । जसले उनीहरुमा सूचना र ज्ञानको दायरा फराकिलो पार्छ र रचनात्मक क्षमता पनि बढ्छ । अब चाडबाडको बेला हाम्रा सांस्कृतिक चालचलनलाई बुझाउने खालका हाम्रा पौराणिक पुस्तकहरुको अध्ययन गर्ने गराउने काम जरुरी छ । सबै उमेर समुहका बाबुनानीले अध्ययन गर्न सक्दैनन तर हामीले आफैले त्यस्ता पौराणिक पुस्तक पढेर सुनाउँदा बालबालिकाले रमाइलो मान्दै सुनेर ज्ञान हासिल गर्न सक्छन् ।


अबको संसार सूचना प्रविधिको हो । बालबालिकालाई सुचना र प्रविधिको पहँुचबाट टाढा राख्नु भनेको उनीहरुको भविष्यलाई पछाडि धकेल्नु पनि हो । त्यसैले घरपरिवारमा रहँदा सुचना र प्रबिधिको प्रयोग कसरि गर्ने भनेर राम्रो सँग सिकाउन जरुरी छ । सुचना र प्रविधिको माध्यमबाट हामीले अनेकौ किसिमका फाइदाहरू लिन सक्छौ । तर, हामी मध्ये धेरै जसो अभिभावकको के गुनासो हुन्छ भने, सूचना प्रविधिका आधुनिक साधनहरूका कारण बालबालिकाको दैनिकी, आनी बानी र पढाइमै गम्भीर असर परिरहेको छ । यसो भनेर के यस्ता कुराबाट उनीहरूलाई जतिसक्दो टाढा राख्ने कोसिस गर्ने होत ? अवश्य होइन । आजको समयमा सूचना प्रविधिबाट बालबालिकालाई टाढा राख्नु भनेको उनीहरूलाई पछाडि पार्नु हो । हामीले बुझ्न के जरुरी छ भने,सूचना प्रविधिका आधुनिक साधनहरू खराब होइनन् तिनको सही किसिमले प्रयोग नहुनु ठूलो चुनौती हो । हामीले बालबालिकालाई उनीहरुको रुचिका अन्य बिषयहरु समेत पहिचान गरि सिक्ने मौका दिनु राम्रो हुन्छ ।


कतिपयको रुचि चित्रकला, फोटोग्राफी, भिडियोग्राफी आदिमा पनि हुने गर्छ । अन्य कतिपयको रुचि गायन, वाद्यवादन, नाटक, खेलकुद आदिमा हुन सक्छ । यस्ता कुराले फस्टाउने मौका पाउन अभिभावकको साथ, समर्थन र सहयोग धेरै महत्वपूर्ण हुन्छ । बढी नै फुर्सदको यो समयलाई यस्ता रचनात्मक सीप र प्रतिभाको विकासका लागि खर्चने हो भने जीवन भरि कै लागि उत्पादक बन्न सक्छ ।


हरेक मानिसलाई समय त्यो वेला मूल्यवान लाग्छ, जति वेला पर्याप्त समय उपलब्ध हुँदैन । यो वेला समय नै समय छ तर यसको महत्व कम लागेको हुन सक्छ । आफ्ना बालबालिकालाई समयको महत्व बुझाएर व्यावहारिक, जीवनोपयोगी र रचनात्मक कार्यमा क्रियाशील बनाउन सक्दा यो समयलाई फलदायी र प्रभावकारी बनाउन सकिन्छ भने हाम्रा चाडबाड अनि रितिथिति सहितको संस्कार सिकाएर सभ्य र परिस्कृत नागरिक बनाउन सकिन्छ । हाम्रा पौराणिक कुराहरुको जगेर्ना गर्दै भावी पुस्तालाई जिम्मेवार बनाउँदै इतिहासको संरक्षण गर्ने समेत मौका मिल्छ ।
(डा. पौडेलले शिक्षा मनोविज्ञानमा बिधावारिधि गरेका छन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *