हरितालिका तीज र यसका विविध सन्दर्भहरु

अनन्तप्रसाद घिमिरे
अर्घाखाँची/२४ भदौ-हरेक देशलाई जीवन्त राख्ने र चिनाउने सन्दर्भमा सस्कृतिको अत्यन्तै ठूलो भूमिका हुने गर्दछ। हाम्रो नेपाली सस्कृतिले संसारकै ध्यान तानिरहेको छ। विविध सस्कृतिको देश नेपालमा मनाइने विभिन्न मौलिक पर्वहरुमध्येको एक महत्त्वपूर्ण पर्व हो हरितालिका तीज ।


प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन विशेष गरि हिन्दु नारीहरुले मनाउने पर्व हो हरितालिका तीज। यस दिन विवाहित एवं अविवाहित नारीहरुले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज पर्व मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पर्व पनि हिमालयपुत्री पार्वतीले महादेवलाइ पतिका रूपमा प्राप्त गर्नका लागि गरेको व्रतसँग सम्बन्धित रहेकोे छ ।


परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन गर्न थालिन् तर, उनको तपस्या सफल हुन सकेन । भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् हरि(विष्णु)को प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए ।


हरिले दिएको जानकारीअनुसार अथवा तालिका अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिकाको नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन् ।


तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुखसमृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझमा भगवान् शिवको पूजा गरेरमात्रै व्रतलाई पूर्ण गर्दछन् ।


तीज पर्ब पनि समयको परिवर्तनसंगै फरक ढंगले मनाउन थालिएको पाइन्छ छ तर पर्वको वास्तविक मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुनु अत्यन्त आवश्यक छ । तीजको सास्कृतिक पक्षलाई चटक्कै भुलेर आधुनिकताको नाममा अस्वभाविक तडकभडक गरिनु पक्कै पनि राम्रो संकेत होइन। अझ व्रतको अघिल्लो दिनमा त एकभक्त रहि अर्थात् एकछाक शुद्ध भोजन गर्नुपर्ने शास्त्रीय विधानलाइ मिचेर तामसी भोजन गर्ने, असान्दर्भिक गीत तथा नृत्यमा हराउने प्रवृत्तिले गर्दा तीज पर्वको वास्तविक मूल्य र महत्त्व नै हराउने त होइन भन्ने अवस्था देखिन थालेको छ ।

लेखक श्री कृष्ण मा.वि. पाणिनी ५,अर्घाखाँचीका शिक्षक हुनुहुन्छ ।