महेन्द्रनगर/१ भाद्र-कञ्चनपुरको भीमदत्त नगरपालिकामा शिक्षकहरुको माग सम्बोधन नगरिएको भन्दै नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले ६१ औं कार्यपालिका बैठक बहिस्कार गरेका छन् । कार्यविधी मिचेर, विधी र प्रकृयालाई लत्याएर भीमदत्त नगरपालिकाले शिक्षकहरुलाई अन्यायमा पारेको भन्दै नेपाली कांग्रेसका जनप्रतिनिधिहरुल सोमवारकोे नियमिति कार्यपालिका बैठक बहिस्कार गरेको वडाध्यक्ष लाल बहादुर शाहीले बताए ।
कार्यपालिकामा छलफलै नगरी, नियम विधान नपु¥याईकन आफ्नो मनोमानी ढङ्गले शिक्षक दरबन्दी मिलानका नाममा आफ्ना मान्छे मिलान गरेको प्रति भीमदत्तका कांग्रेस जनप्रतिनिधिहरुले बैठक बहिस्कार गरेका हुन् ।
भीमदत्तले ३१ असारमा दरबन्दी मिलानको निणर्य गरेको थियो । शिक्षक दरबन्दी मिलानको आधिकारीक सूचनानै सार्वजनिक नगरेको भीमदत्त नगरपालिकाले आफन्त तथा आसेपासेहरुलाई मात्रै प्राथमिकतामा राखेको आन्दोलित शिक्षकहरुको भनाई छ ।

नगरपालिकाको मनलाग्दी दरबन्दी मिलानलाई लिएर शिक्षकहरुले तालाबन्दी गरेको सोमबार ३० दिन पुरा भएको छ, भने रिले अनसनको १४ औं दिन पुरा भएको हो । विधि प्रकृया मिचेर भीमदत्त नगरपालिकाले ३१ असार देखि मनोमानी ढङ्गले दरबन्दी मिलानका नाममा व्यक्ति मिलान गरेकोले शिक्षकहरु आन्दोलित भएको हुँदा, पटक–पटक वार्तामा बस्दा समेत उनीहरुको माग सम्बोधन गर्न गर्न नसकेको प्रती कांग्रेस जनप्रतिनिधिहरु रुष्ट हुँदै सोमवारको बैठक बहिस्कार गरेका हुन् ।
आन्दोलित शिक्षकहरु आफ्ना मागहरु सम्बोधन गराउनका लागि लगातार एक महिना देखि आन्दोलनमा छन् । शिक्षकहरु आन्दोलित हुँदै तालाबन्दी गरेको एक महिना हुँदा सम्म पनि भीमदत्तले उनीहरुको माग सम्बोधनमा बेवास्था देखाएको छ । भीमदत्त नगरपालिका संग आन्दोलित शिक्षकहरुले दरबन्दी मिलानका लागि ३१ असारको कार्यपालिका बैठकको आधिकारिक निणर्य उपलब्ध गराउन आग्रह गर्दा पनि नगरपालिकाले आनाकानी गरेको छ ।
दरबन्दी मिलानका लागि गरिएको आधिकारिक निर्यण सार्वजनिक गर्नुहोस भन्दा विभिन्न वाहाना बनाएर टार्ने गरेको नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सचिव नविन सिंह धामीले बताए । ‘हामीले उक्त निणर्य उपलब्ध गराउनका लागि लागि मौखिक सहमति पनि गयौं, तर नगरपालिकाले आफै सहमती लत्याउन गरेको छ ।’
आन्दोलित शिक्षकहरुले नगरपालिका संग आधिकारिक निणर्य संगै शिक्षा समिति गठनका सूचनाहरु माग गर्दै आएको छ । उक्त सूचनाहरु उपलब्ध भएमा तालाबन्दी खोल्ने मौखिक सहमती भएको तर नगरपालिका त्यसमा तयार नभएको समेत सचिव धामीको दाबी छ ।
नगरपालिकाले मागहरु अझै सम्बोधन नगरे आन्दोलनको ‘मोडालिटी’ परिवर्तन गर्ने आन्तरिक तयारीमा आफुहरु रहेको सचिव धामीले बताए । ‘नगर प्रमुख अर्थात प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी हुन सक्छ ।’ आन्दोलन धर्नाबाट सुरु भएर रिले अनसन सम्म पुगेको छ । यद्यपी नगरपालिकाले माग सम्बोधनका लागि कुनै कसरत गरेको देखिदैन् ।
सोमवार उपमेयर देखि कांग्रेस जनप्रतिनिधिहरुले ६१ औं कार्यपालिका बैठक बहिस्कार सम्बन्धमा भीमदत्तका नगर प्रवक्ता हिमाल चन्दले उक्त कार्य बहिस्कार नभएर अनुपस्थिती भएको प्रतिक्रिया दिएका छन् । ‘बैठकको सुरुमै उनीहरु केहि नबोली बाहिरिनु भयो, त्यसलाई कसरी बहिस्कार भन्ने ।’ प्रवक्ता चन्दले भने ‘बहिस्कारका लागि एजेण्डा ल्याउनु पर्यो, बैठकमा हाजिरी लगाउनु पर्यो ।’
आन्दोलित शिक्षकहरु संग मेयरले दुई पटक, प्रमुख प्रशासकिय अधिकृतले दुई पटक र शिक्षा शाखाले दुई पटक वार्ता गरेको भएपनि सामाधान निस्कन नसकेको नगर प्रवक्ता चन्दको भनाई छ ।
आन्दोलित शिक्षकहरुको माग सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम थालिने नेपाली कांगेस भीमदत्त नगर समितिका सभापति पदम अवस्थीले बताए । ‘आज कांग्रेस जनप्रतिनिधिहरुले कार्यपालिका बैठक बहिस्कार गरेका छन् । यदी नगरपालिकाले शिक्षकहरुका माग सम्बोधनमा लापरबाही गरे नेपाली कांग्रेसले समेत थप आन्दोलनका कार्यक्रम ल्याउछ ।’ नगर सभापति अवस्थीले भने ।
भीमदत्त नगरपालिकाको दरबन्दी मिलानका नाममा व्यक्ति मिलानको बिषयलाई लिएर शिक्षा समितिबाट तीन जनाले राजिनामा समेत गरिसकेका छन् ।







