दमन गरेर समस्याको समाधान नहुने भन्दै इस्टुको चेतावनि

काठमाडौं/२९ साउन-संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले शिक्षक नेताहरूप्रति अपमानजनक, कायरता र निर्ममतापूर्वक धरपकड गरिएको भन्दै प्रेस विज्ञपित जारी गरेको छ । नेपाल शिक्षक महासङ्घको चौथो चरणको आन्दोलन अन्तर्गत बालुवाटार धर्ना दिने कार्यक्रमको तयारी भेला गर्दागर्दै धरपकड गरेको प्रति खेद प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ “नेपाल शिक्षक महासङ्घले उठाएका ३४ बूँदे मागमा अधिकांश मागहरू विगतमा सहमति भएका तर पूरा नभएका मागहरू छन् । सरकारले महासङ्घका नेताहरूलाई वार्तामा बोलाएर सहमति गर्दै कार्यान्वयन गर्नुको साटो आन्दोलनलाई दमन गर्ने लज्जास्पद र गैरप्रजातान्त्रिक काम गरेको छ । ”

यसरी नै शिक्षकहरू माथि निर्ममतापूर्वक दमन गर्ने नीति अवलम्बन गरिराखे भोलिको दिनमा हुने शैक्षिक आन्दोलनले ल्याउने सम्पूर्ण परिणमको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने इस्टुले चेतावनि दिएको छ ।

युनियन पनि नेपाल शिक्षक महासङ्घको संस्थापक घटक भएको व्यहोरा अवगत गराउँदै दमन गरेर समस्याको समाधान नहुने भन्दै तुरुन्त वार्तामा बोलाउन माग गरेको छ ।