काठमाडौं /११ साउन- ११ बुँदे माग राख्दै नेकपा अनेरास्ववियू क्रान्तिकारीले उपकुलपति प्रा. डा. यादवराज कोइरालालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालय समितिले उपकुलपति समक्ष ११ बुँदे माग पेश गरेको हो ।
संयोजक बालकुमार केसि नेतृत्वको टोलीले अनलाइन माध्यमबाट गतवर्ष लिइएको परीक्षाको नतिजा झण्डै १ बर्ष वितिसक्दा पनि प्रकाशित नभएकोले उक्त परीक्षाफल तत्काल प्रकाशित गर्न माग गरेको छ ।
त्यसैगरी प्रदेश १ को भूगोल समेटिने गरी विश्वविद्यालयका आंगिक क्याम्पसहरू विस्तार गर्नुपर्ने, विद्यार्थीको घनत्व रहेका उपत्यका लगायतका अन्य ठाउँमा विश्वविद्यालयका आंगिक क्याम्पस विस्तार गर्नुपर्ने, विश्वविद्यालयको आंगिक मेडिकल कलेज अविलम्ब सञ्चालनको लागि द्रुत पहल र प्रक्रिया अघि बढाउनु पर्ने र चलिरहेका कार्यक्रमहरुको गुणस्तर कायम गर्न लाग्नुको सट्टा नयाँ र निजीलाई सम्बन्धन दिने र कोटा थप गर्ने कार्य तत्काल रोक्न माग गरिएको छ ।
अन्यमागहरुमा विश्वविद्यालयको हरेक सिनेटमा विद्यार्थी प्रतिनिधि सहभागी हुँदै आएकोमा केही समय यताबाट विद्यार्थी प्रतिनिधि समावेश नगरिएकाले अब उप्रान्त सिनेटमा विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने,कोरोना महामारीले शैक्षिक गतिविधि ठप्प भएको समयको शैक्षिक शुल्कहरू मिनाहा हुनुपर्ने, कोभिडले आक्रान्त विद्यार्थी र अभिभावकलाई राहत प्रदान गर्न र विश्वविद्यालयका सम्पुर्ण विद्यार्थी, कर्मचारी एवं शिक्षकलाई तत्काल कोभिड विरुद्धको खोप लगाउन पाउने व्यवस्था सुनिश्चित गर्न समेत अनेरास्ववियू क्रान्तिकारीले माग गरेको छ ।
त्यस्तै आफ्ना ११ बुँदे माग विश्वविद्यालयले तत्काल पुरा नगरे कडा आन्दोलन गर्न वाध्य हुने चेतावनी दिएको छ ।



