एड्भान्स्ड कलेजद्वारा संयुक्त राष्ट्र सङ्घको स्वयम्सेवी नियोगसँगको सहकार्यमा अन्तर सञ्जाल सम्मेलन सम्पन्न

काठमाडौं /२० बैशाख – एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले संयुक्त राष्ट्रसङ्घीय स्वयम्सेवी नियोगसँगको सहकार्यमा अन्तर सञ्जाल सम्मेलन सम्पन्न गरेको छ । ‘स्वयम्सेवाका माध्यमबाट जीवन वृत्ति’विषयक उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय स्वयम्सेवी नियोग थाइल्यान्ड क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिन तथा पिस क्रप्स नेपालका राष्ट्रिय निर्देशक म्याट टुल्लीले कार्यक्रम सञ्चालनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।


संयुक्त राष्ट्रसङ्घीय स्वयम्सेवी नियोग थाइल्यान्डका क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिनले लामो जीवनयात्रा निर्धारण गर्न स्वयम्सेवाले कसरी सहयोग गर्छ भन्ने विषयमा महत्वपूर्ण निर्देशनप्रदान गरे । संयुक्त राष्ट्रसङ्घीय स्वयम्सेवी नियोगको अङ्ग कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यानाकर्षण गराउँदै उनले महामारीको अवधिमा स्वयम्सेवकहरूलाई संस्थाले कसरी प्रोत्साहन गरिरहेको छ भन्ने विषयमा पनि प्रकाश पारे ।

पिस क्रप्स नेपालका कार्यवाहक राष्ट्रिय निर्देशक म्याट टुल्लीले स्वयम्सेवाको महत्व बारे प्रकाश पार्दै पछिल्ला केही दशकमा पिस क्रप्स नामक संस्थाद्वारा अमेरिकी नागरिकहरूलाई समेत सिकाइको अवसर हुने गरी नेपाललाई कसरी योगदान गरिरहेको छ भन्ने विषयमा चर्चा गरे । उनले नेपालका स्थानीय समुदायले पनि वर्तमान सङ्कटका समयमा योगदान गरिरहेको बताए ।

एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले स्वयम्सेवाका क्षेत्रमा युवा वर्गलाई प्रोत्साहन गर्दै फ्राइस्चिन र टुल्लीले व्यक्त गरेको चासो, समर्पण तथा प्रदान गरेको समयप्रति कृतज्ञता व्यक्त गरे । उनले यस किसिमका अवसरले उद्यमशीलता तथा सीपमूलक शिक्षालाई प्रवद्र्धन गर्ने पनि बताए ।
एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलेदेव रेग्मीले यो अन्तर सञ्जाल सम्मेलनको प्रमुख उद्देश्य युवावर्गलाई स्वयम्सेवा प्रति प्रोत्साहन गर्नु मात्र नभई यस किसिमका सार्थक क्रियाकलाप मार्फत उनीहरूको जीवन वृत्तिलाई प्रवद्र्धन गर्नु रहेको बताए । रेग्मीले स्वयम्सेवा प्रति अभिरुचिभएका इच्छुक स्वयम्सेवीहरूलाई उक्त अन्तरसञ्जाल सम्मेलनको प्रमुख खण्डको अभिलेखीकृत सामग्री पछि उपलब्ध गराइने प्रतिज्ञ समेत गरे । प्रयोगशालामा सञ्चालन हुने अनुसन्धानमा आधारित नवीन प्रकृतिका प्रत्यक्ष परियोजनाहरूका माध्यमबाट एड्भान्स्ड कलेजले बहुआयामिक विद्यार्थी केन्द्रित क्रियाकलापलाई विस्तृतीकरण गर्दै आइरहेको छ । त्यस किसिमका समुदायमा आधारित प्रयोगशालाहरू देशका विभिन्न भागमा सञ्चालन गर्ने संस्थाको योजना रहेको छ ।

उक्त अन्तरसञ्जाल सम्मेलनको सञ्चालन एड्भान्सड कलेजको रिसर्च एन्ड इनोभेसन एकाइकी सदस्य तथा नेपालकी प्रसिद्ध युवा वैज्ञानिक डा. प्रतिभा पाण्डेले गरेकी थिइन् । युवा वर्ग र स्वयम्सेवा प्रति आफ्नो दृष्टिकोण राख्दै उनले नेतृत्व, आत्मविश्वास र समूहकार्यको सीप विकासद्वारा यसले कसरी युवा वर्गको जीवन वृत्तिमा लाभ प्रदान गर्छ भन्ने विषयमा प्रस्ट पारिन् ।