तत्काल शिक्षण संस्था बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं /३१ चैत – कोरोना संक्रमण बढे पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भए पनि अझै केही दिनको ‘ट्रेन्ड’ हेरेर मात्र थप रणनीति तय गर्ने निर्णय भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले भने केही साता विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको छ । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड मंगलबार सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले बताए ।

पछिल्लो समय कोरोना संक्रमणबाट बालबालिका धेरै प्रभावित भइरहेका छन् । तर, विद्यालय तथा कलेजले सतर्कता अपनाउनुको सट्टा लापरबाहीसमेत गरिरहेका छन । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार संक्रमण देखिएका पाँच सय ५९ मध्ये २४ जना १८ वर्षमुनिका छन । आइतबार यो उमेर समूहका २७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा दुई सय ८० बालबालिकामा संक्रमण देखिएको छ । सोमबार संक्रमण देखिएका बालबालिकामा सबैभन्दा कम उमेर पाँच वर्षका एकजना र सबैभन्दा बढी १७ वर्ष उमेरका पाँचजना छन । त्यस्तै, २८ चैतमा ५२ बालिबालिकामा, २७ चैतमा ३४, २६ चैतमा ५१, २५ चैतमा २५, २४ चैतमा २६, २३ चैतमा १६, २२ चैतमा १४ र २१ चैतमा ११ बालबालिकामा संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार नयाँ भेरियन्टबाट बालबालिका धेरै प्रभावित भएका छन । रेन्डम नमुना छनोट गर्दा काठमाडौंमा २० प्रतिशत बालबालिकामा नयाँ भेरियन्ट देखिएको छ । त्यस्तै, २० वर्षमुनिका १६ प्रतिशतमा नयाँ भेरियन्ट देखिएको छ । केही दिनअघि पोखरामा गरेको नमुना परीक्षणमा १० देखि २० वर्ष उमेर समूहका ५० प्रतिशतमा नयाँ भेरियन्ट देखिएको थियो ।

शिक्षण संस्थाहरू संक्रमणको हटस्पट बन्दै गए पनि विद्यालयले नियन्त्रणमा लापरबाही गरिरहेका छन । कतिपय विद्यालयले विद्यार्थीमा संक्रमण देखिए पनि विद्यालय बन्द नगरी सम्बन्धित सेक्सन मात्रै बन्द गरेका छन । कतिपयले विद्यार्थी संक्रमित भएको लुकाएका छन । यसअघि नेपाली सेनाको विद्यालय, हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले विद्यार्थी र कर्मचारीमा संक्रमण भएपछि भौतिक कक्षा बन्द गरेर अनलाइन पठनपाठन सुरु गरेका थिए । तर, पछिल्लो समय ललितपुर र काठमाडौंका धेरै विद्यार्थी भएका विद्यालयले विद्यार्थीमा संक्रमण पुष्टि हुँदासमेत पठनपाठन जारी राखेका छन ।

‘कोभिड भएको थाहा भए पनि विद्यार्थी रहेको सेक्सन मात्र बन्द गरियो, अरू कक्षा चलिरहे,’ ललितपुरको एक विद्यालयका शिक्षकले भने, ‘एकजना विद्यार्थी संक्रमित भए पनि विद्यार्थी एउटै कक्षामा मात्र सीमित हुँदैन, क्यान्टिनदेखि खेलमैदानसम्म पुगेको हुन्छ र शिक्षक पनि विद्यार्थीसँग नजिकबाटै पढाएको हुन्छ, त्यही शिक्षक अरू कक्षामा जाँदा संक्रमण फैलिने सम्भावना हुन्छ ।’ काठमाडौंको बानेश्वरस्थित कलेजलगायत धेरै संस्थाले संक्रमण लुकाएर कक्षा चलाएको उनको गुनासो छ ।

स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले कोभिडको संक्रमण सबैलाई हुने भए पनि बालबालिकामा अझ बढी जोखिम हुने बताए । ‘सानालाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न गाह्रो छ,’ उनले भने, ‘सबै क्षेत्र खुलेका छन । सार्वजनिक यातायात चलेका छन, बुझेकाले समेत पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् भने धेरै नबुझेका बालबालिकामा संक्रमण हुने सम्भावना धेरै हुन्छ ।’

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कुनै विद्यार्थीलाई कोभिड– १९ पजिटिभ देखिएमा कन्ट्रयाक्ट टे«सिङ गर्नुपर्नेमा लुकाउन खोज्नु राम्रो नभएको बताए । उनले भने, ‘कोभिड संक्रमण जसलाई पनि हुन सक्छ, त्यो अपराध होइन, तर सबैलाई सुरक्षित बनाउन घटना लुकाउन हुँदैन ।’ लुकाउने प्रयास गरेमा त्यसको नतिजा राम्रो नहुने उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।