कोरोना संक्रमितमा विद्यार्थी तथा बालबालिका संख्या बढ्दै

काठमाण्डौं/३० चैत– अहिले दिनानुदिन बढ्दै गईरहेको कोरोना संक्रमित संख्याहरुमा अधिकांश विद्यार्थी तथा बालबालिका रहेको टेकु अस्पतालले जनाएको छ ।

शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले अस्पतालहरुमा कोरोनाभाइरस संक्रमित संख्या बढ्दै गएको जसमा विद्यार्थी तथा बालबालिकाहरुको संख्या पनि उत्तिकै रहेको जानकारी दिएका छन् ।

काठमाडौँ लगायत विभिन्न शहरमा कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा डा. बाँस्तोलाले सरकारले भिडभाड हुने कार्यक्रम लगायतको काम बन्दको सिफारिस गरिसके तापनि उचित सावधानी नअपनाएका कारण कारोना संक्रमण फेरि बढेको बताए । उनले पछिल्लो समय राजधानीका अस्पतालहरुमा संक्रमितको संख्या थपिने क्रममा रहेको र आईसीयू प्रयोग गर्नेहरु पनि वृद्धि भईरहेको जानकारी दिए ।

उनले आम सर्वसाधारण र सरकार मिलेर कोरोना विरुद्ध लड्नुपर्नेमा जोड दिँदै अनावश्यक भिडभाड नगर्न, परीक्षणको दायरा बढाउन र आम नागरिकले पनि शंका लागेमा परीक्षण गर्न तथा जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई सुझाव व्यक्त गरेका छन् ।

टेकुमा मात्रै नभएर अन्य अस्पतालमा पनि संक्रमितमा निमोनियाको समस्या बढेको भन्दै उनले समूदायमा धेरै संक्रमित रहेको हुनसक्ने आशंका गर्दै सरकारले परीक्षणको दायरालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।