सामुदायिक विद्यालयका शिक्षकलाई स्वेच्छिक अवकासका लागि प्रोत्साहन

ललितपुर/२० चैत- ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका शिक्षकका लागि प्रोत्साहन स्वरुप स्वेच्छिक अवकासको प्याकेज ल्याएको छ ।
महानगरपालिकाले सो उमेर पुगेका स्थायी शिक्षकले स्वेच्छिक अवकास लिन चाहेमा बाँकी सेवा अवधिका आधारमा सुविधा दिएर बिदा गर्ने विषयलाई अगाडि सार्दै सो प्याकेज ल्याएको हो ।
महानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत शेषकान्त पौडेलले पुराना शिक्षकलाई खुशीका साथ बनाएर बिदा गरी दरबन्दी मिलानलाई सहज गर्न र नयाँ पुस्ताका शिक्षकलाई अवसर प्रदान गर्न सो प्रस्ताव अगाडि सारिएको जानकारी दिए ।
उनका अनुसार ललितपुर महानगरपालिकाभित्र सबै तहका गरी ६८३ दरबन्दी छ । त्यसमध्ये करिव डेढ सय शिक्षकको उमेर ५० भन्दा माथि रहेको अनुमान गरिएको छ ।
महानगरपालिकाले २०७८ साल साउनपछि एक वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि एक लाख रुपियाँ, साउनपछि दुई वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई एक लाख ५० हजार रुपियाँ, साउनपछि तीन वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई दुई लाख रुपियाँ, साउनपछि चार वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई दुई लाख ५० हजार रुपियाँ र साउनपछि पाँचदेखि १० वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकलाई तीन लाख रुपियाँ उपलब्ध गराइने जनाएको छ ।
आवेदनका लागि ३० दिने म्याद दिइएको शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।