हुबहु नक्कल गरेपछि प्राध्यापकलाई कारवाही


काठमाण्डौं /१३ चैत– त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई सामग्री हुबहु नक्कल गरेको भन्दै कारवाही गर्ने भएको छ ।


सो सातै जनाले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको हुनाले परिषद्ले कारवाहीको निर्णय गरेको हो ।


सम्बन्धित लेखकले आफ्नो लेखबाट सारिएका अंश चित्रसहित राखेर त्रिवि उपकुलपति कार्यालयमा बौद्धिक चोरी भएको भन्दै सात जना विरुद्ध उजुरी दर्ता गरे पछि उनीहरुलाई कारवाही गरेको हो ।


कारवाहीमा त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायनशास्त्रका प्राध्यापक पर्शुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, नरेन्द्र चौधरी, विमल कण्ठ र हरेराम मिश्र परेका छन् ।


कार्यकारी परिषद्ले पहिलोपटक बौद्धिक चोरीको आरोपितले हालसम्म विभिन्न जनरलमा छपाएका आर्टिकल अमान्य हुने भन्दै दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाइने र दुई वर्षसम्मै कुनै पनि विद्यार्थीको थेसिस गाइड तथा सुपरीवेक्षक बन्न नपाइने भनिएको छ ।


साथै, आंशिक प्राध्यापक रोहित देवलाई भने दुई वर्ष कुनै पनि विश्वविद्यालय वा क्याम्पसहरूमा कक्षा सञ्चालन गर्न नपाइने कारबाही गरिएको छ ।


कार्यकारी परिषद्ले त्रिवि केन्द्रीय क्याम्पस रसायन शास्त्र विभागका प्रा.डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा गठन गरेको छानबिन समितिको सिफारिसमा कारवाहीको सिफारिस गरेको हो । समितिले अध्ययन र अनुसन्धान गरी कार्यकारीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार आरोपित सातजना नै बौद्धिक चोरीको दोषी भेटिएको ठहरिएको प्रा.डा. बस्नेतले बताए ।


कारवाहीका लागि सम्बन्धित कलेजहरूमा पत्राचार पनि भइसकेको त्रिविका कार्यकारी परिषद्ले जानकारी दिएको छ ।