काठमाण्डौं /१२ चैत– वैदेशिक रोजगार विभागले काठमाडौंमा रहेका विभिन्न कन्सल्टेन्सीहरुमा धमाधम छापा मारेको छ । विदेश पठाउने नाममा अवैध काम भएको भन्दै विभागले कन्सल्टेन्सीहरुमा छापा मारेको हो ।
विभागले तीन कन्सल्टेन्सीमा छापा मारेको छ । बुधबार विभागले पुरानो बानेश्वरमा रहेको ग्लोबल इन्फो एजुकेशनल भिसा सर्भिस प्रालि र डिल्लीबजारमा रहेको नेक्ट हव फर्दरिङ एजुकेसनल कन्सल्टेन्सी र बिहिबार कुमारीपाटी ललितपुरमा रहेको एस स्क्वायर क्यारियर एण्ड कन्सल्टेन्सीमा छापा मारेको छ ।
विभागका अनुसन्धान अधिकृत मातृका सापकोटाका अनुसार ती कन्सल्टेन्सीहरुले अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका थिए । उनले भने, “युरोपलगायतका विभिन्न देशमा पठाउने भनी रकम उठाएको विभागमा उजुरी परेपछि हामीले छापा मारेका हौँ ।”
विभागले छापा हानेका यी कन्सल्टेन्सीहरु एजुकेशनल कन्सल्टेन्सी हुन् । यिनीहरुले वैदेशिक रोजगारीमा पठाउनको लागि स्वीकृति पनि नलिएको सापकोटाले जानकारी दिएका छन् ।
विभागबाट छापा मार्न आउने भन्ने सूचना पाए लगत्तै ग्लोबल इन्फो एजुकेसनलका सञ्चालक भने कार्यालय बन्द गरेर फरार भएका थिए । उक्त कन्सल्टेन्सीका सञ्चालकलाई फोन सम्पर्क गर्दा कार्यालय एक दिन बन्द रहेको जनाएका थिए ।
सञ्चालक कार्यालयमा उपस्थित नभएपछि विभागले ग्लोबल इन्फो एजुकेशनल सिल समेत गरेको छ । उक्त कन्सल्टेन्सीले युरोपलगायतका १०० भन्दा धेरै देशमा पठाउने भनी रकम उठाउने गरेको पाइएको विभागले जनाएको छ ।



