आयुर्वेद कलेजमा अध्ययनरत एक छात्राले गरिन् आत्महत्या

काठमाण्डौं/२ चैत्र– कीर्तिपुरको आयुर्वेद कलेजमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ ।
किर्तिपुर आयुर्वेद कलेजमा डाक्टर पढ्दै गरेकी गायत्री भट्टले बिहिबार आत्महत्या गरेकी हुन् ।
गायत्री भट्टलाई बिहीबार साँझ साथीहरुले छात्रावासमा अचेत अवस्थामा ओछ्यानमा लडेको अवस्थामा फेला पारेका थिए ।
अत्याधिक औषधि सेवन गरेका कारण उनको छात्रवासमा मृत्यु भएको आयुर्वेद कलेज प्रमुख डा. शिव मगंलले बताए ।
उनका अनुसार बिहीबार बिहान ८ बजे सबै साथीहरूले एकैसाथ खाना खाएका थिए । शिवरात्री परेकाले साथीहरूले मन्दिर जान आग्रह गर्दा राति नसुतेको र परीक्षा आउन लागेको भन्दै भट्टले बाहिर जान अस्वीकार गरेकी थिइन् ।
साँझ ढोका नखोलेपछि साथीहरूले अर्को कोठाको झ्यालबाट हेर्दा भट्टलाई असमान्य अवस्थामा भेटिएको उनले बताए ।
त्यसलगतै, उनलाई साथीहरूले किर्तिपुर अस्पताल पु¥याएका थिए । अस्पताल लगेको केही बेरमै भट्टलाई डाक्टरहरुले मृत घोषित गरेका थिए ।
बीएएमएसको प्रथम वर्षमा अध्ययनरत भट्ट सुदुरपश्चिमका टपर विद्यार्थी समेत हुन् । भट्ट ड्रिप्रेशनमा रहेकी बुझिएको छ ।
महानगरीय प्रहरी वृत किर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकेस तण्डुकारका अनुसार भट्टको कोठामा हेर्दा उनले अत्याधिक औषधि सेवन गरेको पाईएको छ ।
उनको पार्थिव शरीरलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिसकेको छ भने घटनाबारे अहिले छानबीन भइरहेको डीएसपी तण्डुकारले जानकारी दिएका छन् ।