कक्षा ११ मा अध्ययनरत विद्यार्थी भागरथीको हत्यारा


काठमाडौं /५ फागुन – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको दिनेश भट्टले बलात्कारपछि हत्या गरेकोे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले भट्टलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन गरेर बुधबार दिउँसो ११ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

माघ २१ गते बुधबार कक्षा ११ मा अध्ययनरत १८ वर्षीया दिनेश भट्टले बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । माघ २२ गते बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

दुई परिवारबीच रहेको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बयान दिएका छन् । उनले विद्यालयबाटै पछ्याउँदै आएको र दार्चुलाबाट बैतडी जाने बाटोको भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा एकान्तमा भेटेपछि उनलाई घचेटेर झाडीमा लडाएर हत्या गरेको उनले बयान दिएका छन ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी खटिएका थिए । साथै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखुको नेतृत्वमा टोली खटिएको थियो ।