काठमाण्डौं/२ फागुन– गोकर्णेश्वर नगरपालिकाले नगरपालिकाभित्र रहेका १६ वटा सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको जनाएको छ ।
बाटुलेचौर वडा नं.१ स्थित श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले प्रभावकारी तथा स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको उचित वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । साथै, विद्यालय गतिविधि एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको उनले बताए ।
स्थानीय विषय समेटेर कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक लागू गरिएकोमा यसकोे प्रभाव अहिले सकरात्मक देखिएको भन्दै नगरपालिकाका सल्लाहकार दीपक रिसालले नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुट्याएको बजेट रकमको सही सदुपयोग भई राम्रो नतिजा देखिन थालेको बताए ।
सो कार्यक्रममा विद्यालयमा दिवा खाजा सञ्चालनका साथै शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सामुदायिक विद्यालयको स्तरोन्नति


