काठमाडौं/२९ मंसिर– आज धनुषा जिल्लाका सम्पूर्ण निजी विद्यालयहरु बन्द गरिएको छ ।
शनिबार राती क्षिरेश्वरनाथ नगरपालिका–५ स्थिति महेन्द्रनगरमा भएको बम विस्फोटमा परि एक विद्यार्थीको मृत्यु भएपछि बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा निजी विद्यालय र क्याम्पस बन्द गरिएको हो ।
जनकपुरमा रहेको सिद्धार्थ शिशु सदन स्कुलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात् प्याब्सनका धनुषा अध्यक्ष चन्द्र नारायण मण्डलले विज्ञप्ति जारी गरी आईतबार जिल्लाभरका सम्पूर्ण निजी विद्यालयहरु र क्याम्पस बन्द रहने जानकारी दिएका हुन् ।
प्याब्सनले यस घटनाले स्तब्ध बनाएको बताउँदै घटनामा संलग्न अपराधीलाई कानुनी दायरमा ल्याउनुपर्ने माग राखेको छ । विस्फोटनमा परी आनन्द साहसहित प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साहको मृत्यु भएको थियो ।
