काठमाण्डौं /१३ माघ– अत्यधिक चिसो तथा शीतलहरका कारण कपिलवस्तुको मायादेवी गाउँपालिकाका विद्यालयमा तीन दिनका लागि जाडो बिदा दिइएको छ ।
जाडोले गर्दा स्वास्थ्यमा प्रभाव पर्ने हुँदा विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द गरिएको हो ।
गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचनामा गाउँपालिकाभित्र रहेका सबै विद्यालय तीन दिन सम्मका लागि बन्द गर्ने जनाइएको छ ।
माघको शुरुवातदेखि नै कपिलवस्तुमा बाक्लो हुस्सु एवम् शीतलहरले त्यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।
यसैगरी, शीतलहरका कारण कपिलवस्तु नगरपालिकाका विद्यालय पनि चार दिनका लागि बन्द हुने भएको छ । अत्यधिक मात्रामा जाडो बढेकाले पठन–पाठनमा समस्या आएपछि विद्यालयमा बिदा गर्ने निर्णय भएको हो ।
नगर शिक्षा समितिको निर्णयअनुसार चार दिनका लागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा एकाइका उपसचिव हरिप्रसाद ज्ञवालीले जानकारी दिए । माघ १५ देखि भने विद्यालय सञ्चालन हुने उनले बताए ।
यसका साथै, धनुषा महेन्द्रनगरस्थित क्षीणेश्वर नगरपालिकाले पनि आज एक सूचना जारी गर्दै भोलीदेखि शुक्रबार सम्म नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले बढ्दो चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखी त्यस क्षेत्र भित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिन विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्णले बताए ।
अत्यधिक चिसोका कारण विद्यालयहरु धमाधम बन्द!


