काठमाडौं /२० पुस – यो वर्षबाट माध्यमिक शिक्षा (एसईई) को परिक्षा प्रदेशस्तरबाटै सञ्चालन हुने भएको छ ।
मन्त्रिपरिषद् अन्तर्गत सामाजिक समितिको आईतबार बसेको बैठकले यसका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
गृहमन्त्रीको अध्यक्षतामा बसेको सो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, कानुनमन्त्री र महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको उपस्थिति रहेको थियो ।
राज्यको नीतिमै माध्यमिक तहअन्तर्गतको कक्षा १० को परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को परीक्षा केन्द्रीयस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि केन्द्रीयस्तरमै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्दै आएको छ ।
अब केन्द्रले परीक्षा सञ्चालन गर्ने छैन भन्दै एसईईलाई प्रदेशस्तरमा सञ्चालन गर्न सैद्धान्तिक सहमति प्रदान गरेको शिक्षा मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार परीक्षा निर्देशनालयले सञ्चालन गरे पनि राष्ट्रिय परीक्षा बोर्डका नामबाट प्रमाणपत्र जारी हुनेछ भने प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा परीक्षा बोर्ड रहनेछ ।
सामाजिक समितिको यो निर्णयलाई मन्त्रिपरिषदबाट स्वीकृति प्रदान गर्नुपर्ने हुँदा अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यो विषयलाई पेश गरिने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।



