काठमाडौ /१९ पुस – काठमाण्डौंको सुविधानगर तीन कुने स्थित ट्रिटन इन्टरनेशनल कलेजलगायत, शुभश्री कलेज र एफवन सफ्ट इन्टरनेशनलबीच सहकार्य हुने भएको छ ।
विद्यार्थीको सीप विकास र रोजगारका लागि लक्षित गर्दै सो तीन संस्थाहरुबीच सम्झौता भएको हो । सम्झौता पत्रमा दुबै कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाह र एफवन सफ्टका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता पत्रमा एफवन सफ्ट अन्तर्गतका ईसेवा, फोन–पे, ईसेवा मनी ट्रान्सफर, सिरान टेक्नोलोजीलगायत कम्पनीमा दुवै कलेजका विद्यार्थीले रोजगारीको अवसरसमेत पाउने उल्लेख गरेको छ । त्यस्तै, ट्रिटन र शुभश्री कलेज दुवैको संस्थाहरुको कार्यक्रममा एफवन सफ्टको ब्राण्ड प्रवद्र्धन गरिने छ ।
सम्झौताअनुसार एफवन सफ्ट र उसका सहायक कम्पनीहरूमा ट्रिटन र शुभश्री कलेजका विद्यार्थीले स्थलगत भ्रमण, अवलोकन कक्षा, इन्टर्नसिपलगायतका शैक्षिक क्रियाकलापको अवसर पाउने छन् ।
तीनकुनेमा रहेको ट्रिटन इन्टरनेशनल कलेजमा कक्षा ११ र १२ का साथै स्नातक तहमा बीएसडब्ल्यू, बीसीए, बीबीएस र स्नातकोत्तर तहको एमबीएस अध्यापन गरिरहेको छ भने नयाँ बानेश्वरस्थित शुभश्री कलेजले बीएचएम र बीबीए अध्यापन गरिरहेको छ ।



