कोरियाली भाषा परीक्षाको टुङ्गो हुन नसक्दा कयौं युवाहरु प्रभावित

काठमाडौं/१९ पुस- सन् २०२१ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिने कोरियन भाषा परीक्षा अहिलेसम्म टुङ्गो हुन नसक्दा तयारीमा लागेका कयौं युवाहरु प्रभावित भएका छन् ।
कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले भाषा परिक्षाका लागि चैत महिनामा आवेदन खुलाउने गरेको थियो । तर, यो वर्ष भने कोरोना भाइरस नियन्त्रणका कारण लकडाउन भएसँगै आवेदन खुलाईएको छैन । कोरिया सरकारले २०२१ मा भाषा परीक्षा गर्ने भनिएता पनि स्थनीय सम्बन्धीत निकायले हालसम्म्म आवेदन र परीक्षाका लागि कार्यतालिका पठाएको छैन । जसका कारण परिक्षा कहिले गर्ने भन्ने अनिश्चितता रहेको ईपीएस शाखाले जानकारी दिएको छ ।
कयौं युवाहरुको आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले कोरोनाका कारण गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको भन्दै यो वर्ष विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ ।
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण नेपाली कामदार लैजाँदै आएको थियो । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भन्ने निक्र्यौल गर्न नसकेका कारण परीक्षाको तयारीमा जुटेका युवाहरु भने मारका परेका छन् ।
सन् २०२० मा कोरियाको मानव संशाधन केन्द्र (एचआरडी) ले लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए, जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण भएका थिए । त्यसमा उत्पादन क्षेत्रमा ४ हजार ७ सय जना र कृषि तथा पशुपालनतर्फ २ हजार जना छनोट भएका थिए ।
कोभिड–१९ का कारण सन् २०२० मा भाषा परीक्षा सञ्चालन हुन नसके पनि यो वर्ष (सन् २०२१ मा) परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ ।