कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन तयारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं/१४ पुस – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गर्न तयारीअनुसार कार्य भईरहेको जनाएको छ ।
पुस १५ गते भित्र नतिजा प्रकाशन गर्ने भनिएकोमा अधिकांश विद्यालयले परीक्षार्थीहरुको सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा केही ढिलासुस्ती हुन गएको परीक्षा बोर्डका जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार बोर्डसँग जनशक्ति पर्याप्त नै छ तर ‘सिम्बोल नम्बर सिरियली नभएको कारण दिनमै ४० हजार इन्ट्री गर्नेहरुले ५ हजार पनि इन्ट्री गर्न सकिरहेका छैनन्,’ त्यसैले यहीबेला नतिजा प्रकाशन हुन्छ भन्ने स्थिति रहेन । तर सकेसम्म छिटो काम सक्ने कोसिस गरिरहेको पौडेलले बताए ।
यसअघि शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था थियो । बोर्डको प्रदेश र शाखा कार्यालयहरूले ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाएका थिए । राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार अहिले परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा ईन्ट्री गर्ने काम भईरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले केन्द्रमा आएको प्राप्तांकमा कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंकसमेत जोडेर नतिजा सार्वजनिक गर्ने जनाएको छ ।