काठमाडौँ /२० कात्तिक- त्रिभुवन विश्वविद्यायद्धारा आयोजना गरीने ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा सम्मिलित हुन इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।
४६औँ दीक्षान्त समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्र्तीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ ।
विद्यार्थीले आवेदन फाराम परीक्षा नियन्त्रण कार्यलयको वेबसाईड मार्फत अनलाइनबाट भर्न सक्ने छन् भने आउँदो मङ्सिर २ गतेभित्र आवेदन भरिसक्नु पर्ने सूचनामा भनिएको छ ।
दीक्षान्त समारोहमा सम्मिलित हुन चाहाने विद्यार्थीहरुका लागि स्नातक तहले रु तीन हजार ७००, स्नातकोत्तर तह र स्नातकोत्तर तथा एम फिलले रु चार हजार २०० र विद्यावारिधि पिएच डीले रु चार हजार ७०० शुल्क लाग्ने जानकारी दिएको छ । तीमध्ये रु एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन । साथै दीक्षान्त समारोहमा अभिभावक सरिक गराउने भएमा प्रति अभिभावक रु ३०० का दरले फिर्ता नहुने गरी थप शुल्क लाग्ने छ ।


