काठमाडौँ /२० कात्तिक – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड १९ को माहामारीको यो अवस्थामा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको छ ।
पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भन्नुभएको हो ।
मन्त्री पोखरेलले इन्टरनेटको समस्या भएका विद्यार्थीलाई सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गर्नु भएको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिनुभयो ।
मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । जसमा विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ ।
कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।



