काठमाडौं /१४ साउन – भेरी साहित्य समाज नेपालगन्जले विभिन्न क्षेत्रमा योगदान पुर्याउने छ जनालाई सम्मान गरेको छ । सुप्रिसिद्ध गायक, संगितकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल ‘महेन्द्र मधुकर’ को ८५ औं जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
आइतबार भेरी साहित्य समाज केन्द्रिय समितिद्वारा आयोजित पुरस्कार, सम्मान तथा बहुभाषिक कवि गोष्ठी समारोहमा पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष तथा साहित्यकार महानन्द ढकाल सम्मानित भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले ढकाललाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । दुई दशक बढी भाषा, साहित्य र शिक्षामा योगदान गरेका ढकालका खण्डित आत्मा गजल संग्रह, उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु र अब्यक्त प्रत्यासा गजल संग्रह र घाम उदाए हाइकु सङ्ग्रह प्रकाशित छन् भने पूर्णिमा साहित्य प्रतिष्ठान मार्फत ढकालले मोफसलको साहित्य विकासमा योगदान पुर्याउँदै आएका छन् ।
सोही कार्यक्रममा ढकाल सँगसँगै अन्य व्यक्तिहरु पनि सम्मानित भएका छन् । भेरी साहित्य समाजद्वारा स्थापित प्रेमप्रकाश मल्ल स्मृति पुरस्कारबाट कलाकार श्यामनन्द सिहंलाई सम्मान गरिएको थियो । सिंहलाई सम्मान पत्रकासाथै नगद पच्चीस हजार एक सय एघार प्रदान गरिएको थियो । एघार हजार एक सय एघार राशिको लक्षिमा शेर बहादुर पुरस्कार लेखक भूपेन्द्र प्रकाश शर्मा, भिम वली तथा खजुरा गापाका अध्यक्ष किस्मत कुमार कक्षपतीलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी तिमिल्सिना वाङ्मय प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिने रामेश्वर कमलादेवी स्मृति पुरस्कारबाट पाँच हजार एक सय एघार रासी सहित साहित्यकार गणेश जिसी सम्मानित भएका छन् । उक्त कार्यक्रममा प्रा डा गोपाल प्रसाद शर्मा अधिकारीको समालोचना यात्रा, शशीराम कार्कीको कथा सङ्ग्रह मन्दाकिनी र मिना बरालको कविता सङ्ग्रह मनका छालहरु समेत विमोचन गरिएको थियो । विमोचित सङ्ग्रहहरु माथि समालोचक डम्बर पुन, ईश्वरी रिजाल, लेकप्रसाद प्याकुरेल र इन्द्रबहादुर भण्डारीले समीक्षा गरेका थिए ।
साहित्यकारहरु विष्णु कुम्हाल, किरण आचार्य, खगेन्द्र गिरि कोपिला, मणि अर्याल, ऋचा लुइँटेल, सुमित्रा न्यौपाने, चरित्रा शाह, सन्तोषी विष्ट, महेन्द्र वाग्ले लगायत सात दर्जन बढीको उपस्थिति रहेको थियो । भेरी साहित्य समाजका अध्यक्ष तथा प्राज्ञ हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेकप्रसाद प्याकुरेल र शशीराम कार्कीले गरेका थिए ।