भक्तपुर/२८ कार्तिक – कला र सृजनशीलतालाई नयाँ उचाइ दिँदै, भक्तपुरले आफ्नो शैक्षिक इतिहासमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्ने एक ऐतिहासिक मञ्च बन्यो ।
प्रतियोगितामा सहभागी विद्यालयहरूले मञ्चमा आफ्ना कथा र कला कौशललाई जीवन्त रूप दिए । निर्णायक मण्डललाई समेत प्रभावित पार्दै, ऋतम्भरा पाठशालाले प्रतिष्ठित प्रथम स्थान हासिल ग¥यो । त्यसैगरी, ईडेन गार्डेनले दोस्रो र संस्कार गुरूकूलले तेस्रो स्थान प्राप्त गर्न सफल भए भने विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान पायो ।
कलाकारिताको उत्कृष्ट नमुना प्रस्तुत गर्दै, आरक्षण नेसनल स्कुलकी छात्रा यूनिशा खत्रीले ‘उत्कृष्ट कलाकार’ को उपाधि चुमिन् । अन्य सब–टाइटल अवार्डहरूमा पाथिभरा एकेडेमीले उत्कृष्ट प्रस्तुति, क्वालिटी स्कुलले उत्कृष्ट निर्देशन, यूनिटी स्कुलले उत्कृष्ट सन्देश, जागृति विद्या सदनले उत्कृष्ट मञ्च व्यवस्थापन र संस्कार गुरूकूलले उत्कृष्ट कथाको अवार्ड हात पारे ।
कार्यक्रमका प्रमुख अतिथि एवं मुख्य निर्णायक, वरिष्ठ रङ्गकर्मी केदार श्रेष्ठले विद्यालय स्तरमा भएको यो नाटक प्रतियोगितालाई ‘सम्भवतः पहिलो र साहसिक अनुभव’ भन्दै प्रशंसा गरे । उनले यस्ता पहलहरूले युवा पुस्तामा कलाप्रतिको समर्पण बढाउने बताए ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले नाटक केवल मनोरञ्जनको साधन नभई विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने सशक्त माध्यम भएको र यसले समाज र राष्ट्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रख्यात नायिका तथा नाटक प्रशिक्षक आरती गौतम र प्रतिभाशाली थिएटर कलाकार एडेन बात्री रहेका थिए ।



