बाँके/२८ असार-कोभिड १९ का कारण देशभरका शैक्षिक संस्थ बन्द रहेको बेला बाँके जिल्लाको एक स्थानीय तहले आगामी साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको हो ।
आइतबार बसेको प्रअ,जनप्रतिनिधि,राजनीतिदलको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको राप्ती सोनारी गाउँपालिकाका शाखा अधिकृत जीवन न्यौपानेले खबर एजुकेशनलाई बताए । विद्यालयमा कोभिड १९बाट बच्नकालागि अपनाउनु पर्ने सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको कारण पनि १५ गतेबाट विद्यालय खोल्ने तयारी गरेको उनले बताए ।
गाउँपालिकाका २ वटा विद्यालय एक हप्ता पहिले देखि खुलिसकेका थिए त्यो बाट अभिभावक पनि उत्साहित देखिएका र अरु विद्यालयले चलाउन सकिने आसय व्यक्त गरे पछि आज बैठक बोलाएर यो निर्णय गरेको न्यौपानेले बताए ।
सुरुमा माथिल्लो कक्षाका थोरै विद्यार्थीलाई मात्र विद्यालयमा बोलाएर पछि क्रमशः संख्या बढाउँदै लैजाने नीति अबलम्वन गरिने उनले बताए । उक्त गाउँपालिकामा ५४ वटा सामुदायिक र १७ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।
गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांश वडामा विद्यालयका भवनलाई क्वारेन्टिन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई सेनिटाइज गरिने छ ।
अहिले गाउँपालिकामा ४ जना क्वारेन्टिन छन भने संक्रमितको संख्या पनि ४ जना रहेको छ । चार जना मध्ये तीन जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।