एसईईपछि के ब्रिज कोर्ष आवश्यक छ ?


एसईईपछि विद्यार्थीहरु आफ्नो रुचीको विषय रोजेर भविष्यको सपना साकार पार्नतर्फ अग्रसर हुन्छन् । आफ्नो सपना साकार पार्नका लागि ब्रिज कोर्षलाई सहयोगीका रुपमा लिइन्छ । माध्यमिक तह (कक्षा ११) भर्ना हुनु भन्दा अघि विद्यार्थीहरुले ब्रिज कोर्ष गर्छन् ।


ब्रिज कोर्ष विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिने एउटा छोटो अवधिको कोर्स हो । ब्रिज कोर्षमा विद्यार्थीहरुलाई माध्यमिक तह कक्षा ११ मा पढाई हुने विषयहरुका बारेमा पढाइन्छ या भन्नु कक्षा ११ मा पढ्नका लागि तयारी गराइन्छ । विशेषगरी प्राविधिक विषय अध्ययन गर्न चाहाने र प्रवेश परीक्षा लिइने विषयहरु अध्ययन गर्ने विद्यार्थीहरुले ब्रिज कोर्ष पढ्ने गर्दछन् । नर्सिङ, फार्मेसी, एचए, ओभरसियर आदि पढ्नका लागि ब्रिज कोर्ष गर्नु अनिवार्य जस्तै भईसकेको छ । अहिले कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकाय पढ्ने कतिपय विद्यार्थीहरुले पनि ब्रिज कोर्ष गर्ने गरेको पाइन्छ ।


एसईईपछिको बाँकी समयलाई सदुपयोग गरी पढ्ने बानीलाई निरन्तरता दिन पनि विद्यार्थीहरुले ब्रिज कोर्ष गर्छन् । ब्रिज कोर्ष गरेपछि आत्मविश्वास बढ्ने र कलेजहरुले लिने प्रवेश परीक्षा पास गर्न सजिलो हुने विद्यार्थीहरुको अनुभव छ । ब्रिज कोर्ष गरेपछि आफूले पढ्न चाहेको विषय अध्ययन गर्नका लागि कलेजले लिने प्रवेश परीक्षामा उत्तीर्ण हुने र छात्रवृत्ति पाउने हुने हुँदा पनि एसईईपछि ब्रिज कोर्ष गर्न विद्यार्थीको ताँती नै लाग्छ ।


कलेजहरुमा सीमित सिट संख्या तोक्नु र राम्रो कलेजमा नाम निकाल्ने होडका कारण पनि विद्यार्थीहरु ब्रिज कोर्ष तर्फ आकर्षित भएको पाइन्छ । सहरका विद्यार्थीहरुलाई मात्र नभएर ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पनि एसईईपछि ब्रिज कोर्षको हावाले भेटाउँछ । ग्रामीण क्षेत्रका विद्यार्थीहरु एसईई दिए लगत्तै ब्रिज कोर्ष गर्नका लागि काठमाडौं वा सहरी क्षेत्रमा जाने गर्दछन् । पछिल्लो समयमा ब्रिज कोर्षलाई आवश्यकता भन्दा पनि फेशनका रुपमा हेरिएको पाइन्छ । तर, ब्रिज कोर्षको आफ्नो छुटै महत्व छ । ब्रिज कोर्षले विद्यार्थीहरुलाई माध्यमिक तह कक्षा ११ मा भर्ना हुनका लागि सहयोगी भूमिका निवार्ह गर्छ ।


ब्रिज कोर्षको महत्व


१) कक्षा ११ मा असहज अनुभव नहोस् भनी आधारभूत महत्वपूर्ण कुराहरु अध्यापन गराइ वातावरण सहज बनाउँछ ।


२) प्रवेश परीक्षाका लागि सहजकर्ताको भूमिका खेल्छ ।


३) ब्रिज कोर्ष अध्ययनका साथै विभिन्न करियर काउन्सेलिङ समेत हुन्छ ।


४) ब्रिज कोर्ष विभिन्न भाषा, संस्कृति अपनाउने थलो पनि हो ।


५) ब्रिज कोर्षले एसईई र त्यसभन्दा माथिल्लो तहबीच आउने समस्यालाई कम गर्छ ।


अहिले ब्रिज कोर्ष अध्यापन गराउनका लागि च्याउ उर्मे सरी इन्स्टियुटहरु सञ्चालनमा छन् । यो वर्ष भने अधिकंश इन्स्टियुटहरुले अनलाइनबाटै ब्रिज कोर्ष सञ्चालन गरेका छन् । कतिले निशुल्क अनलाइन ब्रिज कोर्ष गराएका छन् भने कतिले अनलाइनबाटै शुल्क तिर्न मिल्ने बनाएर ब्रिज कोर्ष पढाएका छन् ।


सबैले आफूले राम्रो अध्यापन गराउने दाबी समेत गर्दै आईरहेका छन् । ज–जसले जे भने पनि विद्यार्थीहरुले अनुभवी संस्थाबाट खाली समयको सदुपयोग गरी ज्ञान आर्जन गर्न ब्रिज कोर्ष अध्ययन गर्दा राम्रो हुन्छ । हामीले पढेको कुरा खेर जाँदैन । अहिलेको समय भनेको प्रतिस्पर्धाको समय हो । त्यसैले आफूलाई प्रतिस्पर्धीको रुपमा अघि बढाउन प्राविधिक विषय र प्रवेश परीक्षा लिने विषय अध्ययन गर्ने विद्यार्थीहरुले ब्रिज कोर्ष पढ्दा राम्रो हुन्छ ।


तर, साथीभाइको लहीलही, देखासिकी र रमाईलो गर्ने ध्ययेले भने ब्रिज कोर्ष गर्नु हुँदैन । यसो गर्दा पैसा र समय दुवैको नाश हुन्छ । आफू कुन विषय पढ्ने हो, विषय छनोट गर्ने र त्यो विषय अध्ययन गर्नका लागि ब्रिज कोर्ष आवश्यक छ वा छैन ध्यान दिन आवश्यक छ ।


कति लाग्छ त शुल्क ?


ब्रिज कोर्ष सामन्यतया ३ महिने कोर्ष हो । जसका लागि न्यूनतम ५ हजार देखि ८ हजारसम्म खर्च लाग्छ । कोर्ष अनुसार कक्षा सञ्चालन हुन्छ भने इन्स्टियुशन अनुसार दैनिक वा हप्तापिच्छे परीक्षा लिइन्छ । तर यो वर्ष अनलाइन बाटै पढ्ने हुँदा अनलाइन मै कोर्ष बुक,अभ्यास गर्न मिल्ने र नबुझेमा शिक्षकसंग सोध्न सकिने व्यावस्था ब्रिज कोर्ष इन्स्टियुटहरुले गरेका छन् । यसरि अनलाइनबाट कोर्ष गर्नकालागि न्यूनतम १००० देखि २००० सम्म लिने गरेका छन् । तर विद्यार्थीले कसले कति सेवा सिुविधा दिएका छन् र कसको कोर्षमा धेरै विषयवस्तु समाबेस गरेको छ विचार पु¥याउनू पर्छ ।