सरकारले शुल्ककाे निर्णय १९ गतेसम्म नगरे, भर्चुअल कक्षा बन्द गर्ने निजी विद्यालहरुको चेतावनी

काठमाडौं/१४ असार – निजी विद्यालयहरुले आगामी असार १९ गतेसम्म शुल्कको विषयमा सरकारले कुनै निर्णय नगरे भर्चुअल कक्षा बन्द गर्ने चेतावनी दिएका छन् ।


शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय र निजी विद्यालहरुको छाता संगठन प्याब्सन र एन -प्याब्सनबीच शुल्कका विषयमा आज भएको वार्तामा शुल्क विषयमा असार १९ गतेसम्म निर्णय नभएमा असार २२ गतेबाट भर्चुअल कक्षा बन्द गर्ने भएका हुन् ।


निजी विद्यालयमा कार्यरत शिक्षकलाई तलब खुवाउनका लागि भन्दै निजी विद्यालयका छाता संगठन प्याब्सन र एन प्याब्सन संयुक्त विज्ञप्ति जारी गरी अभिभावकलाई शुल्क तिर्न आग्रह गरे सँगै त्यसको सर्वत्र विरोध भएको थियो । शिक्षा मन्त्रालयले पनि विज्ञप्ति जारी गरी अभिभावकसँग शुल्क नलिन निर्देशन दिएको थियो ।


सरकारको यो निर्णयसँगै निजी विद्यालयमा कार्यरत शिक्षकहरुले तलब पाउन सकेका छैनन् । माघ महिनादेखि तलब नपाउँदा जीविकोपार्जनमा समस्या आएको शिक्षकहरुको गुनासो छ । सरकारले न्यूनतम शुल्क लिने वातावरण नबने भर्चुअल क्लास बन्द गरी सरकारलाई विद्यालयको साँचो बुझाउने प्याब्सनका अध्यक्ष टीकाराम पुरीको भनाई छ ।

लकडाउनको समयमा पनि शिक्षकहरुले भर्चुअल कक्षा सञ्चालन गरेकाले उनीहरुलाई सुविधा दिनुपर्ने उनको भनाई छ । शिक्षकहरुलाई सुविधा दिन, कोठा भाडा तिर्न, टेलिफोन लगायतको शुल्क तिर्नु पर्ने भएकाले अभिभावकसँग शुल्क लिन बाध्यता भएको निजी विद्यालयहरुको भनाई छ ।