वैदेशिक अध्ययन स्वीकृत पत्र पुनः सुचारु गर्न शिक्षा मन्त्रीलाई नेकाको आग्रह


काठमाडौं/११ असार-राष्ट्रिय परामर्श शैक्षिक संघ (नेका) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबीच वैदेशिक अध्ययन स्वीकृत पत्र (एनओसी लेटर) का विषयमा आज छलफल भएको छ ।


नेकाका अध्यक्ष सन्तोष प्याकुरेल र कोषाध्यक्ष रमण कोईराला लगायत संघका सदस्यहरुले मन्त्री पोखरेल समक्ष लामो समयदेखि एनओसी लेटर जारी नहुँदा व्यवसाय सञ्चालनमा समस्या आएको गुनासो गरेका छन् ।

अहिलेको अवस्थामा विदेश अध्ययनमा गएका विद्यार्थीले भोग्नु परेको समस्या, विद्यार्थीहरुको स्थिति र अभिभावकले भोग्नु परेको समस्या र निकासका विषयमा छलफल भएको नेका अध्यक्ष सन्तोष प्याकुरेलले जानकारि दिएका छन् । छलफलका क्रममा मन्त्री पोखरेलबाट सकारात्मक प्रतिक्रिया आएको उनले वताए।


सोहि छलफलमा बिदेश अध्ययनमा जाँदा बिद्यार्थीले अनिवार्य रुपमा बनाउनु पर्ने अध्ययन अनुमती पत्र ( NOC) जारी गर्ने प्रकृया लाई पुनः सुचारु गर्ने मोडालिटिको विषयमा पनि छलफल भएको र अब छिटै नै परामर्श ब्यवसायलाइ सुचारु गर्ने, तयारी कक्षालाई अनलाइनबाटै भएपनि सुचारु गर्ने जस्ता कुरामा पनि छलफल भएको अध्यक्ष प्याकुरेलले जानकारि दिए ।


नेकाले यसअघि पनि विज्ञप्ति जारी कोरोना भाइरस संक्रमणको जोखिम कम रहेको राष्ट्रका लागि एनओसी जारी गर्न आव्हान गरेको थियो । कोरोना भाइरसका कारण लामो समयदेखि एनओसी जारी नहुँदा शैक्षिक परामर्श क्षेत्र सञ्चालनमा समस्या भएको छ ।