सरकारको कडा निर्देशनलाई अटेर गर्दै शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको अडान

Image result for शिक्षा मन्त्रालय नेपाल


काठमाडौं/१० मंसिर– मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएका छन् ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुुगेर सात वटा मेडिकल कलेजका सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुुझाउँदै अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान राखेका छन् । काठमाडौं मेगिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस चितवन, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज जोरपाटी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, विराट मेडिकल कलेज विराटनगर र देवदह मेडिकल कलेजका सञ्चालकले ज्ञापन पत्र बुुझाएका छन् ।
मेडिकल कलेजको यो कदमपछि सरकारले के गर्ने भन्ने बारेमा गृहमन्त्रालयमा शिक्षा मन्त्रालयका पदाधिकारीसहित बैठक बसिरहेको छ ।
निजीक्षेत्रबाट सञ्चालित केही मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुुल्क असुुलेका कारण चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु धेरै समयदेखि आन्दोलनरत छन् । अवैध रुपमा असुलेको शुल्क फिर्ता पाउनु पर्ने माग राख्दै लामो समयदेखि विद्यार्थीले आन्दोलन गर्दै आईरहेका छन् । विद्यार्थीहरुले गैरकानुुनी रुपमा उठाएको शुुल्क फिर्ता गर्न पटकपटक अल्टिमेटम दिँदा पनि मेडिकल कलेजहरुले टेरेनन् ।
मन्त्रिपरिषद्ले अतिरिक्त शीर्षकमा लिएको शुल्क फिर्ता गर्न वा अन्य शुल्कमा समायोजन गर्न असोज २८ गते कलेज सञ्चालकलाई निर्देशन दिएको थियो । तर समयसीमाभित्र कलेज सञ्चालकले शुल्क फिर्ता गरेनन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अवैध शुल्क फिर्ता गरी पढाइ सुुचारु गर्न आग्रह गरेको थियो । तर, त्यसलाई कलेजहरुले अटेर गरे । पहिलो अल्टिमेटमअनुसार शुल्क फिर्ता नगरेपछि शिक्षामन्त्रीको अनुुरोधमा गृह मन्त्रालयमा बसेको बैठकले दुुई साताअघि कलेज सञ्चालकलाई दोस्रो पटक शुल्क फिर्ता गर्नका लागि १५ दिनको अल्टिमेटम दिएको थियो ।
यसबिचमा शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि कलेज प्रशासनले धम्काउने, आक्रमण गर्ने र तर्साउने जस्ता गतिविधि ग¥यो । सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेजका विद्यार्थीले विरोध गरे । विद्यार्थीले कलेज परिसरमा ¥याली गर्दै शुल्क फिर्ताको माग गरे । तर, कलेज सञ्चालक बसुुरुद्दिन अन्सारीले कलेजमा अध्ययनरत विद्यार्थीलाई बाहिरका गुुन्डा लगाएर कुुटपिट गर्नेदेखि ज्यान मार्ने धम्कीसम्म दिए ।
यसैगरी, भैरहवामा रहेको युुनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थीमाथि पनि कलेज प्रशासनको मिलेमतोमा प्रहरीले लाठीचार्ज नै ग¥यो भने पोखरामा रहेको गण्डकी मेडिकल कलेजले विद्यार्थीलाई परीक्षामा फेल गर्ने र कलेजबाट रेस्टिकेट गर्ने सम्मको धम्की र डर दियो ।
यता चितवन मेडिकल कलेजका विद्यार्थीहरु पनि शुल्क फिर्ता नभएपछि डर र धम्कीको सामना गर्दै आन्दोलनमा उत्रिएका छन् भने ललितपुरको क्रिष्ट मेडिकल कलेजले त विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा फेल नै गरिदियो ।
मेडिकल कलेज विद्यार्थीमाथि आपराधिक ढंगबाट प्रस्तुुत हुँदा पनि सरकारले कुनै कारबाही प्रक्रिया अगाडि बढाएको छैन ।
दोस्रो पटकको अल्टिमेटमको समय सकिनै लाग्दा सरकारले शुल्क फिर्ता नगर्ने मेडिकल कलेजका सञ्चालकलाई मंसिर ११ गतेदेखि कारबाही थाल्ने निर्णय ग¥यो भने शिक्षा मन्त्री पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज सञ्चालकहरुलाई मन्त्रालय बोलाए । बैठकमा मेडिकल कलेजका सञ्चालकहरुले एमबीबीएस अध्ययनका लागि विद्यार्थीबाट लिएको सबै अतिरिक्त शुल्क समायोजन गर्न तयार भएको र आन्तरिक छलफल गर्ने बताउँदै २४ घण्टाको समय माग गरेका थिए ।
मेडिकल कलेजको यो विषयलाई छिटै समाधान नगर्ने हो भने चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरुको पढाइमा प्रत्यक्ष रुपमा असर परेको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार १२ वटा मेडिकल कलेजले दुुई अर्ब ८५ करोड १३ लाख १६ हजार दुुई सय ९७ ठगी गरेको पाइएको छ । विद्यार्थीहरुको उजुरीका आधारमा केन्द्रले गरेको छानविनमा मेडिकल कलेजहरुले प्रति विद्यार्थीबाट दुुई लाखदेखि २५ लाख ४० हजार ५ सय ३२ रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेको पाइएको छ ।
सरकारले शैक्षिक सत्र ०७३–०७४ मा उपत्यका भित्रका मेडिकल कलेजले ३५ लाख र उपत्यका बाहिरका मेडिकल कलेजलाई ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो भने शैक्षिक सत्र ०७४–०७५ मा उपत्यका भित्रका मेडिकल कलेजलाई ३८ लाख ५० हजार र उपत्यका बाहिरका मेडिकल कलेजलाई ४२ लाख ४५ हजार शुल्क तोकिएको थियो । शिक्षण शुल्कभित्र सबै शुल्क पर्ने कानुनी व्यवस्था भएपनि मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुली गरी ठगी गरेको पाइएको छ ।