हरिबंश पराजुली
कोरोना भाइरस (कोभिड–१९) आज विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । भाइरसका कारण विश्व मानव जगत् संकटमा छ । लामो समयदेखि फैलिएको भाइरसले मानव अस्तित्व नै धरापमा पर्ने हो कि भन्ने आशंका बढ्दै गएको छ । हाम्रो देश नेपाल पनि यो महामारीबाट अछुतो रहन सकेन । गुल्मी जिल्लाका एक जना हुनाहार शिक्षक नेता तथा प्रधानाध्यापकले कोरोनालाई परास्त गर्न नसक्दा, उहाँको निधन भयो । यसप्रति गहिरो दुःख र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । हाल सम्म कोरोना भाइरसका कारण नेपालमा तीन जनाको मृत्यु भई सकेको छ भने पाँच सय भन्दा बढी संक्रमण देखिएको थियो । जसमध्ये ७० भन्दा बढी उपचारपछि निको भएर घर फर्किसकेको अवस्था छ ।
यस विषम परिस्थितिमा आज देशभरका चार लाख शिक्षक कर्मचारी, ८० लाख विद्यार्थी र अभिभावकहरु मानसिक रुपमा विछिप्त भएका छन् । शिक्षकहरुलाई बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकासँग रहँदा दिन काटेको पत्तो हुन्न थियो । सँगै पढ्ने पढाउने र सँगै खेल्ने शिक्षक विद्यार्थीको दिनचर्या फेरिएको छ । बालबालिकाहरु दिनभर खेल्ने र गलत संगतमा फस्ने डर उत्तिकै बढेर गएको छ । पठनपाठनमा बालबालिकाको ध्यान जान सकेको छैन । यति बेला नयाँ कक्षामा गएर नयाँ पुस्तकसँग रमाएर त्यहाँ भित्रका कथा कविताहरु पढेर रमाउने विद्यार्थीहरुको हातमा न पाठ्यपुस्तक छ, न विद्यालय जना पाउँछन् । यो अत्यन्तै दुःखको क्षण हो । विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन केही सुविधा सम्पन्न सहर बजारमा इन्टनेट, कम्प्युटर, ल्यापटपको माध्यमबाट पठनपाठन भईरहेको छ । यो स्वागत योग्य छ ।
अहिले विभिन्न कार्यक्रममा पाठ्यक्रम समावेश पाठ्यपुस्तकको भिडियो बनाएर पनि शिक्षण सामग्री व्यवस्थित गरिएको छ । शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग अपरिहार्य छ । तर, ग्रामिण दुरदारजमा यसको उपयोग सम्भव छैन । जहाँ इन्टरनेटको पहुँच छैन र कम्प्युटर, ल्यापटप जस्ता सामग्री छैन । त्यस्ता भेगका बालबालिकालाई हामीले कसरी शिक्षण सिकाई गतिविधिमा सहभागी बनाउने यो चुनौतिको विषय बनेको छ । मेरो बुझाइमा अब ग्रामिण भेगका दुरदराजका बालबालिकाका लागि एक बालबालिका एक ल्यापटपको अवधारणा अगाडि बढाउँदा राम्रो हुन्छ । पाठ्यपुस्तकमा लगानी गर्ने पैसा अब एक बालबालिका एक ल्यापटपटमा लगानी गर्दा उपयुक्त हुन सक्छ । ल्यापटपमा पाठ्यक्रममा आधारित पाठ्य सामग्री राखेर बालबालिकालाई उपलब्ध गराउँदा बालबालिकाको सार्व्ङ्गिण विकासमा टेवा पुग्नेमा कुनै दुई मत छैन । भनिन्छ, पहिलो पाठशाला घर र पहिलो शिक्षक आमाबुबा हुन् । यस बेला आमाबुबाले बालबालिकलाई सिकाउने, खेल्ने र खेलाउने गर्नुपर्छ । जसले गर्दा बालबालिकाममा डर पैदा नहोस् र शिक्षण सिकाई प्रति बालबालिकाको ध्यानाकर्षण रहि रहोस् ।
यदाकदा केही शिक्षाविद्ले पठनपाठन सुरु गर्नुपर्छ भनेको सुन्दा अचम्मित भएको छु । ती शिक्षाविद् नभएर घिचुवाविद् हुन् किनकि आज देश लकडाउनमा छ । कोरोना दिन प्रतिदिन बढ्दैछ । यस्तो अवस्थामा विद्यालय खोल्दा विद्यालयमा हरेक समुदायबाट आउने बालबालिकामा र शिक्षकमा कोरोना भाइरस फैलिन्छ । एक बालबालिका वा शिक्षकमा कोरोना लागे, त्यो विद्यालय र समुदाय सबैमा कोरोनाको जोखिम हुन्छ । तसर्थ यस्तो बेला विद्यालय खोल्ने भन्दा पनि भिडियो कन्फ्रेन्सबाट, रेडियोबाट, कम्प्युटर र ल्यापटपबाट दुरशिक्षा प्रणाली र भर्चुअअल प्रणालीबाट शिक्षण गर्नु नै अन्तिम विकल्प हो ।
सरकारले सकिन्छ भने एक विद्यार्थी एक ल्यापटप, एक विद्यार्थी एक रेडियो निःशुल्क दिएमा र शिक्षकले रेडियो, टिभी र इन्टरनेटको माध्यमबाट भर्चुअल, दुरशिक्षा प्रदान गरेमा अहिलेको शैक्षिक अकर्मण्यता र निराशा हटेर जान्छ र शैक्षिक क्षतिबाट पनि बच्न सकिन्छ ।
लेखक ओखलढुङ्गा जिल्लामा रहेको जलकन्या आधारभूत विद्यालय सल्लेरिका प्राधानध्यापक हुन् ।