विद्यालयको पठनपाठन सुचारु गर्न र एसइईको परीक्षा स्थगन गर्न विज्ञहरुको सुझाव


काठमाडौ/१० जेठ – कोरोना भाइरसका कारण बन्द गरिएको विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन शिक्षाविद्हरुले सुझाव दिएका छन् । साथै एसइईको परीक्षा स्थगन गर्न समेत उनिहरुले सुझाव दिएका छन् ।
कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले कडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द गरिएको हो ।


यसरि लामो समय शैक्षिक संस्था बन्द हुदा पठनपाठन प्रभावित हुदा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न विज्ञहरुले सुझाव दिएका हुन् ।


आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा विज्ञहरुले एसइईको परीक्षा स्थगित गर्न र विद्यालयलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्न सुझाव दिएका हुन् ।


शिक्षाविद् डा मनप्रसाद वाग्लेले विद्यार्थीहरुलाई पालैपालो सिफ्टवाइज विद्यालय बोलाएर पढाई सूचारु गर्नुपर्ने बताए। उनले अहिले देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएको र त्यसको व्यवस्थापन कठिन हुने भन्दै सरकारले तत्काल विचार गर्नुपर्ने बताए।


उनले विद्यालयलाई निर्मलीकरण गर्ने, पालैपालो विद्यालयमा बोलाउने, विद्यार्थीलाई मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्फ्रारेड थर्मो्मिटरको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्था गर्ने लागयतका काम गर्नु पर्ने सुझाव दिएका छन् ।


त्यसै गरि लकडाउनमा केही विद्यालयहरुले अनलाइनबाट पढाई सुरु गरेको तर सबै विद्यार्थीहरुमा इन्टरनेटको पहुच नभएकाले उक्त प्रविधि सबैले प्रयोग गर्न नसकने विज्ञहरुले बताएका छन् । सरकारले टेलिभिजन, रोडियो, छापा र अनलाइन मिडियाबाट पढाउने गरी पाठ्यक्रमको विकास गर्न पर्ने विज्ञहरुको सुझाव छ।

त्यसै गरि शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउनुपर्ने बताए । उनले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठिन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नु पर्ने समेत उनले बताए ।


सांसद डा. मिनेन्द्र रिजालले प्रविधिको प्रयोग गरी विद्यायल शिक्षालाई सुचारु गर्न सकिने बताए । उनले सरकारले प्रविधिको विकासका लागि श्रोत दिने र स्थानीय तहबाट शिक्षाका क्रियाकलापलाई व्यवस्थापन गर्नेगरी काम गर्नुपर्ने बताए ।
सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताइन् । उनले एसइई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनुपर्ने बताए ।


सांसद प्रभु साहले कोरोना भाइरसको जोखिमको अवस्था कति लामो समय सम्म जान्छ र विद्यालय कहिले सम्म बन्द हुन्छ भन्ने विषयमा स्पस्ट हुनुपर्ने बताए । उनले लामो समय विद्यालय बन्द हुने, अनलाइनको पाठ्यक्रमको विकास र प्रणालीको विकास गर्न समय लाग्ने भएकाले मन्त्रालयले योजनाको विषयमा समितिले जानकारी लिएर अगाडि बढ्नुपर्ने बताए।