परीक्षामा नक्कलको परिणाम : सुदूरपश्चिमको वास्तविक शैक्षिक चुनौती

काठमाडौँ /४ असोज – मैले विद्यार्थीलाई सोधे, “साँच्चिकै भन्नुस् त, तपाईँले प्लस टुमा पूरै नक्कल गरेर उत्तीर्ण गर्नुभएको हो कि होइन ?”
यस्तो प्रश्न सोध्नुपर्ने परिस्थिति त्यसबेला उत्पन्न भयो, जब सामान्यभन्दा सामान्य विषयवस्तु सम्बन्धी प्रश्नहरू सोध्दा पनि उनले दिएका अधिकांश उत्तरहरू गलत हुन थाले । केही क्षण उनी अकमकिए अन्ततः उत्तर दिए, “हो सर, हामीले पूरै नक्कल गरेर उत्तीर्ण गरेका हौँ ।”


मैले फेरि सोधेँ, “तपाईँहरूका शिक्षकहरूले राम्रोसँग पढाउनुहुन्न ?”


उनको उत्तर थियो, “सरहरू कहिले कक्षामा आउनुहुन्छ, कहिले आउनुहुन्न, आए पनि पढ्-पढ् मात्र भन्नुहुन्छ ।”


मैले सोधेँ, “त्यसो भए तपाईँहरूले शिक्षकलाई आफ्नो समस्या बताउनु हुन्न ? पढ्न गाह्रो भइरहेको छ भनेर सोध्नुहुन्न ?”


उनले भने, “सर, हामी कसरी पास हुने भनेर सोध्दा शिक्षकहरू ‘पढेर के गर्छौ ? भोलि प्लस टु सकेर विदेश जाने नै हो’ भन्ने गर्नुहुन्छ । सरहरू नै नक्कल गर्ने व्यवस्था मिलाइ दिनु हुन्छ परीक्षामा सर, साँच्चिकै भन्नुपर्दा हामीलाई केही पनि आउँदैन, तर नक्कल गरेर प्लस टु उत्तीर्ण भएपछि क्याम्पसमा पढ्न आएका हौँ ।” अधिकांश विद्यार्थीहरूको यस्तै प्रतिउत्तर हुने गर्दछ ।


विद्यार्थीको यो स्वीकारोक्तिले नेपालको, विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूको शैक्षिक अवस्थासँग सम्बन्धित एउटा गम्भीर प्रश्नलाई उजागर गर्छ । यो एउटा अथवा केही मात्र विद्यार्थीको मात्र समस्या होइन; यसले विद्यालय तहको सिकाइ, परीक्षा प्रणाली, शिक्षकको उत्तरदायित्व, अभिभावकीय भूमिका र उच्च शिक्षामा प्रवेश गर्ने विद्यार्थीको तयारी सम्बन्धी गहिरो चुनौतीतर्फ संकेत गर्छ । यद्यपि, सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाका विद्यार्थीहरूको अवस्था यस्तै छ भन्ने निष्कर्षमा पुग्न व्यवस्थित अध्ययन र प्रमाण आवश्यक हुन्छ ।


१. नक्कलमा आधारित उत्तीर्णता र सिकाइको अभाव


विद्यालय तहमा विद्यार्थीले परीक्षामा नक्कल गरेर उत्तीर्ण गरे पनि त्यसले वास्तविक ज्ञान, सीप र बौद्धिक क्षमता विकास भएको प्रमाण दिँदैन । परीक्षा उत्तीर्ण गर्नु र विषयवस्तु बुझेर सिक्नु दुई फरक कुरा हुन् । जब विद्यार्थीले आधारभूत अवधारणाहरू नबुझीकन कक्षा १० वा कक्षा १२ उत्तीर्ण गर्छ, तब उच्च शिक्षामा प्रवेश गरेपछि उसले नयाँ विषयवस्तु बुझ्न कठिनाइ भोग्न सक्छ ।


क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीबाट विषयगत आधारभूत ज्ञान, विश्लेषणात्मक क्षमता, लेखन सीप र स्वतन्त्र अध्ययन गर्ने बानीको अपेक्षा गरिन्छ । तर विद्यालय तहमा नै यी आधारहरू कमजोर भएका विद्यार्थीलाई क्याम्पसको पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कन प्रणालीसँग समायोजन हुन गाह्रो हुन्छ ।


यसरी हेर्दा, नक्कलबाट प्राप्त प्रमाणपत्रले विद्यार्थीलाई अर्को तहमा प्रवेश गर्ने अवसर त दिन सक्छ, तर आवश्यक ज्ञान र सीपको विकास नगरेको अवस्थामा उसको शैक्षिक यात्रा थप चुनौतीपूर्ण बन्न पुग्छ ।


२. क्याम्पस तहमा देखिने समस्या


विद्यालय तहमा आवश्यक ज्ञान र सीप हासिल नगरी क्याम्पसमा प्रवेश गरेका विद्यार्थीहरूले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । उनीहरू कक्षामा शिक्षकले पढाएको विषयवस्तु बुझ्न नसक्ने, पाठ्यपुस्तक आफैँ पढेर अर्थ ग्रहण गर्न कठिनाइ हुने र परीक्षाको तयारी गर्न असमर्थ हुने अवस्था देखिन सक्छ ।


कतिपय विद्यार्थी सहरमा भाडाको कोठा लिएर बस्छन् । उनीहरू नियमित रूपमा कक्षामा उपस्थित नहुने, स्वाध्ययनमा पर्याप्त समय नदिने र पढाइको उद्देश्य तथा विषयवस्तुको अर्थ नबुझीकन केवल लेख्ने अभ्यासमा सीमित हुने अवस्था पनि देखिन्छ । कुनै विषयमा लामो उत्तर लेखे पनि त्यसमा के भन्न खोजिएको हो भन्ने कुरा स्पष्ट नहुन सक्छ ।


यसको परिणामस्वरूप पहिलो सेमेस्टरमै धेरै विषयमा अनुत्तीर्ण हुने र दोस्रो सेमेस्टरमा पनि उस्तै समस्या दोहोरिने सम्भावना हुन्छ । परीक्षामा नक्कल गर्ने प्रयास गर्दा समातिने र थप शैक्षिक क्षति ब्यहोर्नुपर्ने अवस्था पनि उत्पन्न हुन सक्छ ।


यसरी निरन्तर असफलता, अध्ययनप्रतिको अनिश्चितता र भविष्यप्रतिको अन्योलले विद्यार्थीमा निराशा, आत्मविश्वासको कमी तथा मानसिक तनाव उत्पन्न गर्न सक्छ । यस्ता अवस्थामा विद्यार्थीलाई दोषारोपण गर्नुभन्दा उसको शैक्षिक पृष्ठभूमि, सिकाइको अवस्था, पारिवारिक सहयोग र संस्थागत सहयोगको समग्र मूल्याङ्कन गर्नु आवश्यक हुन्छ । गम्भीर मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएमा उचित परामर्श र विशेषज्ञ सहयोगको व्यवस्था गरिनुपर्छ ।


३. अभिभावक, शिक्षक र विद्यार्थीको साझा जिम्मेवारी


यस शैक्षिक समस्याको एउटा महत्वपूर्ण पक्ष अभिभावक, शिक्षक र विद्यार्थीबिचको सम्बन्ध हो । कतिपय अभिभावक आफैँ औपचारिक शिक्षाबाट वञ्चित भएका हुन सक्छन् । छोराछोरी ठूला भइसकेपछि उनीहरूले आफ्ना सन्तानले आफैँ बुझेर पढ्न सक्ने अपेक्षा गर्छन् । “छोराछोरी ठूला भइसके, अब हामीले के सम्झाउने र कति सम्झाउने ?” भन्ने अभिभावकको सोचले पनि विद्यार्थीको शैक्षिक कठिनाइ समाधान गर्न आवश्यक सहयोगको अभाव सिर्जना गर्न सक्छ ।


अर्कोतर्फ, क्याम्पसका शिक्षकहरूले विद्यार्थीलाई आधारभूत ज्ञानसमेत नआएको अवस्थामा आफूले प्राथमिक तहका विषयवस्तु सिकाउनुपर्ने बाध्यता रहेको महसुस गर्न सक्छन्। “अब हामीले प्राइमरी तहका कुरा पनि सिकाउने हो ?” भन्ने शिक्षकहरूको प्रश्न उनीहरूले भोगिरहेको व्यावहारिक कठिनाइको अभिव्यक्ति हुन सक्छ ।


तर उच्च शिक्षामा प्रवेश गरेका विद्यार्थीको आधारभूत ज्ञान कमजोर हुनु केवल विद्यार्थीको व्यक्तिगत कमजोरीका रूपमा बुझिनु हुँदैन । यसमा विद्यालय तहको शिक्षण प्रणाली, मूल्याङ्कन पद्धति, शिक्षकको उपस्थिति तथा प्रभावकारिता, अभिभावकीय सहयोग र शिक्षा प्रशासनका विभिन्न पक्षको भूमिका रहन सक्छ ।


त्यसैले समस्या समाधानका लागि विद्यार्थी, शिक्षक र अभिभावक सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्छ। विद्यार्थीले इमानदारीपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ । शिक्षकले विद्यार्थीको सिकाइको अवस्था पहिचान गरी आवश्यक शैक्षिक सहयोग प्रदान गर्नुपर्छ । अभिभावकले आफ्ना बालबच्चाहरू राम्रो वातावरण प्रदान गर्नुका साथै असल व्यवहार र हेरचाह गर्नुपर्ने जिम्मेवारी इमान्दारीताका साथ निभाउनुपर्छ ।
-प्रा. डा. मुकुन्द कलौनी