पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले बाढी प्रभावितका लागी ७० लाख सहयोग गर्ने

पोखरा/१३ भदौ – रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।


पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।


निर्णयअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम तथा प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरिनेछ ।


त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ७ दिनको, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहका शिक्षक तथा कर्मचारीबाट ५ दिनको र श्रेणीविहीन कर्मचारीबाट २ दिनको सुरु तलब बराबरको रकम कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ ।


विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले विश्वविद्यालयले उक्त निर्णय गरेको हो । विश्वविद्यालयबाट संकलित रकम करिब ७० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।