काठमाडौँ /१२ भदौ – नेपाल शिक्षक संगठनले नेताहरूलाई विपद् प्रभावित क्षेत्रमा परिचालित भई सहयोगमा जुट्न निर्देशन दिएको छ । भोटेकोशीमा आएको आकस्मिक र अकल्पनीय बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सो निर्देशन दिएको हो ।
साथै विपद् प्रभावित क्षेत्रका नागरिकहरूको खोज, उद्धार र पुनस्थापनामा सहयोग तथा घरवारविहीन, मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रभावित क्षेत्रका नागरिकहरुको सहयोगका लागि संगठनका सवै तहका समितिहरुले आर्थिक संकलनको अभियानलाई तिव्र रुपमा अगाडी बढाउन समेत आह्वान गरिएको छ ।
“नेपाल सरकार मुख्य सचिव स्तरीय सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुबाट २ दिन देखि १० दिन बराबरको भाद्र महिनाको तलवभत्ता कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयको स्वागत गर्दै आम नेपाली शिक्षक÷कर्मचारीहरुलाई सहयोगको लागि अपिल गर्दछौं । अझै पनि बाढी प्रभावित क्षेत्रमा बेसहारा जनताहरूको उद्धार नभएको, राहत सामग्रीहरू नपुगेको र बेपत्ताहरूको खोजी तथा घाइतेहरूको उपचार नभएको गुनासोलाई तत्काल सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ ” विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी अहिलेको अवस्थामा सङ्गठनका पूर्व निर्धारित केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका सम्पूर्ण औपचारिक कार्यक्रमहरू एक हप्ताको लागि स्थगित गरी विपद् प्रभावित क्षेत्रको सहयोगमा केन्द्रित हुने जनाएको छ ।



