काठमाडौँ /२६ साउन – शिक्षा नियमावली,२०५९ (दसौँ संशोधन) को नियम २५ को उपनियम (१) को खण्ड (ट१) मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न वा गराउन नदिने व्यवस्था छ ।
विद्यार्थीलाई पोसाक वा साजसज्जा सम्बन्धी मापदण्ड पालना नगरेको वा शुल्क नतिरेको जस्ता कारणले विद्यार्थीलाई अपमानित गर्ने, सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट बन्चित गर्ने, जबरजस्ती कपाल काट्ने वा कटाउन लगाउने, विद्यार्थीको शारीरिक स्वरूप, पहिचन, शृङ्गार (मेकअप) वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने, लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याई दण्ड दिने तथा निजको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य वा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पुग्ने कुनै कार्य वा व्यवहार विद्यालयमा निषेध गरिएको छ ।
तर, विद्यालय परिसर वा कक्षाकोठाभित्र विद्यार्थीहरूलाई जबरजस्ती कपाल कट्न लगाउन नमिल्ने सरकारको निर्देशन पछि विद्यार्थीहरूलाई अनुशासनमा राख्न कठिन भएको शिक्षक तथा विद्यालयहरूको गुनासो छ । सामान्य भाषामा विद्यार्थीलाई सम्झाएर कपाल नपाल्न, काटेर आउँ भन्दा पनि उजुरी गर्ने गरेको र त्यसले शिक्षण पेसालाई नै चुनौती थपिएको उनिहरूको भनाई छ ।
पछिल्लो समय विद्यार्थीहरूले कपाल लामो पाल्ने, लामो कपालले आँखा छोपेर शिक्षकलाई हेर्ने, कक्षामा हल्ला गर्ने, जिस्क्याउने जस्ता कुराले कक्षाकोठामा पठनपाठन सहज रूपमा गर्न निकै सकस भएको नाम नबताउने सर्तमा एक शिक्षकले बताए । उनले सामान्य भाषामा सम्झाउँदा पनि विद्यार्थीले अधिकारका कुरा गर्ने, सरकारले भनेको कुरामा किन समस्या जस्ता प्रश्न गर्ने र पालिकाहरूमा उजुरी दिने प्रवृत्ति बढेको गुनासो गरे । अर्का एक जना शिक्षकले विद्यालयले पनि भनेको नमान्ने र अभिभावकलाई पनि नटेर्ने बरु विद्यार्थीले उल्टै पालिका र हेलो सरकारमा उजुरी हालेर दिक्क पार्ने गरेको बताए ।
काठमाडौँको वाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमालले सरकारको यो निर्णयले विद्यालय झन झन धान्नै कठिन हुँदै गएको बताइन । विद्यार्थी अनुशासनमा बस्न नमान्ने, सम्झाएर केही भने उजुरी गर्ने, घुरेर हेर्ने जस्ता समस्याले शिक्षक आजित भएको उनको भनाई छ ।
उनले भनिन् “अनुशासनका बारेमा केही बोल्नै नहुने भयो, बोल्यो की स्थानीय पालिकामा उजुरी गरि हाल्ने, सरकारले दिएको अधिकार हो किन हजुरहरूलाई समस्या भयो जस्ता कुरा गर्छन । यस्ता कुराले शिक्षकले नै विद्यालय छोड्नु पर्ने अवस्ता सिर्जना गरेको शिक्षकहरूले गुनासो सुनाउनु हुन्छ । कपाल नकाट भनेपछि पोसाक पनि जस्तो पायो त्यस्तै लगाएर आउने, छात्रहरूले कपाल पाल्न भएपछि हामीले पनि कपाल छोड्न पाइन्छ होलानी भनेर छात्राहरूले भन्ने गर्छन । यसले विद्यालयमा निकै सकस बनाएको छ ।”
रिमालले विद्यार्थीहरूलाई नैतिक कुरा सिकाउनका लागी भएपनि यस्ता कुरामा सरकारले हस्तक्षेप गर्न नहुँने धारणा व्यक्त गरिन । हरेक दिन यस्तै विषयमा विद्यार्थीसँग कुरा गर्नुपर्ने भएकोले पठनपाठनमा समेत राम्रोसँग समय दिन नसकिएको बताइन । यसको असर तत्कालै नदेखिएपनि ५ वर्षपछि देखिने उनको भनाई छ ।
बुटवलको अक्सफर्ड माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश भुसालले विद्यार्थीहरूलाई जिम्मेवारी बनाएर कार्यान्वयन गर्दा ठिक हुने तर्क गर्दै तत्कालै सरकारले गरेको निर्णयले समस्या सिर्जना गरेको बताए ।
उनले पहिला पहिला विद्यालयसँग डर हुने गरेकाले अभिभावक बोलाउँदा आउने र विद्यार्थी अनुशासनमा रहने गरेको उल्लेख गर्दै सरकारको अहिलेको निर्णयले बालबालिकालाई बुझाउनै कठिन भएको धारणा व्यक्त गरे । उनले भने “प्रकृतिको पनि अनुशासनमा बस्ने नियम हुन्छ तर हामी मानव हौँ । हामी सबै अनुशासनमा बस्नुपर्छ । पछिल्लो समय विद्यार्थीहरूलाई नैतिक र संस्कार शिक्षा सिकाउनुपर्ने अवस्था आएको छ । तर यस्ता व्यवस्थाले न विद्यार्थीले विद्यालयले भनेको मान्छन्, न अभिभावकले भनेको टेर्छन । यसले समस्या बनाएको छ ।”
बुटवलको नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले समुन्नत देश निर्माणका लागी स्मार्ट नागरिक उत्पादन गर्नुपर्ने बताउँदै यसका लागी अनुशासन आवश्यक रहेको र सरकारको निर्णयले विद्यालयमा समस्या भईरहेको बताए । विद्यालयले कपाल काटेर आउँ, लामो नबनाउ भनेर सम्झाउँदा उल्टै सरकाले नै नकाटे पनि हुन्छ, बाध्य पार्न पाइन्न भनेको छ भनेर विद्यार्थीहरूले प्रति प्रश्न गर्ने गरेको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकामा विद्यार्थीले उजुरी दिएपछि स्पष्टीकरणका लागी धाउनु परेको गुनासो गरे । यस्तै अवस्था हरिरहे विद्यार्थीमा अनुशासन नै नरहने बस्नेतले बताए ।
शिक्षाविद् मेदिनी लामिछानेले अनुशासन भनेको मनैदेखि आउने कुरा भएकाले विद्यार्थीको बाहिरी आवरण हेरेर मूल्याङ्कन गर्न नहुने बताउँदै यसको समस्या विद्यार्थी र विद्यालय दुबैमा देखिएको विचार व्यक्त गरे । विद्यालयले कपाल काट्नै पर्छ भन्ने, विद्यार्थीले पाल्न पाउनु पर्छ भन्ने गर्दा कपालकै बारेमा बुझाई फरक हुँदा समस्या देखिएको बताए ।
उनले भने “विद्यालयले आफै कपाल काटिदिने, विद्यालय आउनै रोक लगाउने, कपाल पालेकै कारण सार्वजनिक रूपमा विद्यार्थीको बेइज्जत गर्ने लगायतका व्यवहार विद्यालयले रोक्नु पर्छ । छोटो कपाल पाल्दैमा विद्यार्थी अनुशासन हुन्छ भन्ने मानक परिवर्तन गर्नुपर्छ । अनि लामो कपाल पाल्दैमा अनुशासनहिन हुने, चरित्रहिन हुने, असभ्य हुने जस्ता ट्याग विद्यार्थीलाई लगाइदा विद्यार्थीको ध्यान नै प्रयोग गरिएका शब्दमा हुन्छ ।”
लामिछानेले यसका बारेमा विद्यालयले उनिहरूलाई परामर्श दिने कपाल पाल्दा स्वास्थ्यमा पार्ने असर बारे सचेत गराउने, सरसफाइमा ध्यान दिन लगाउने, खाना खाँदा कपाल झर्न सक्छ त्यसबारे अवगत गराउने, कपालले आँखा छोपिदा लडेर दुर्घटना हुन सक्छ त्यसबारे सिकाउने लगायत उनिहरूलाई कपाल व्यवस्थापनका बारेमा सिकाउनु पर्नेमा जोड् दिए ।
उनले कपाल पाल्न पाउँदैमा कलर गरेर आउने, सरसफाइ नगर्ने जस्ता समस्या पनि आउन सक्ने औँल्याउँदै विद्यार्थीलाई विद्यालयको इच्छा अनुसार देखिने बनाउनेकी उसको छनोट अनुसार जिम्मेवार बनाउने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।
अहिलेको पुस्तालाई विद्यालयले बुझेर तर्कसङ्गत तरिकारले उनिहरूलाई जिम्मेवार बनाउन आवश्यक रहेको र विद्यालयले भनेको मान्नु पर्ने मात्रै भनेर नहुने, त्यो किन भनियो कारणसहित सिकाउन सकिए समस्यालाई न्यूनीकरण गर्न सकिने सुझाब दिए ।
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले शिक्षा नियमावली,२०५९ (दशौं संशोधन)मा राखिएको उक्त व्यवस्थाले शिक्षामा राम्रो सन्देश नगएको र विद्यालयले सभ्य र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने हुँदा नियमावलीमै यस्ता कुरा राख्नुले विद्यालयलाई सीमित परिधि भित्र राख्न खोजिएको बताए ।
उनले अभिभावक र समाजको चाहाना अनुसार विद्यालय गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई असल नागरिक बनाउने थलो भएकाले नियमावलीको यो व्यवस्थाले विद्यालय र शिक्षकलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनाएको विचार व्यक्त गरे ।
उनले भने “विद्यालय गुणस्तरीय शिक्षा सँगै सुशासन र असल नागरिक निर्माण गर्ने थलो हो । अभिभावक र समाजले पनि विद्यार्थीमा गुणस्तरीय शिक्षासँगै असल नागरिक, असल संस्कारको चाहाना राख्नु हुन्छ । तर विद्यालयमा विद्यार्थीको बालअधिकार हनन् गरेर कपाल काट्न वा अन्य कुरामा बाध्य पारिन्छ जस्तो सरकारले अविश्वास निर्माण गरेको छ । सरकारको यो नियत विद्यालयलाई सानो परिधिभित्र राख्ने देखिन्छ । यो ठिक छैन ।”



