गौरादह/२६ साउन – कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको प्रवेश परीक्षा यसपटक झापाको गौरादहस्थित गौरादह कृषि क्याम्पसमै हुने भएको छ । प्रवेश परीक्षा गौरादहमै सञ्चालन हुने भएपछि कोशी तथा मधेश प्रदेशका विद्यार्थीलाई परीक्षा दिन काठमाडौं पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।
गौरादह कृषि क्याम्पसमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा डीनको आगमनका क्रममा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापतिले विद्यार्थीले लामो समयदेखि भोग्दै आएको समस्या समाधानका लागि गौरादहमै प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने विषय प्राथमिकताका साथ उठाएका थिए ।
त्यसपछि स्ववियुले उक्त विषयलाई निरन्तर पहल गर्दै डीन कार्यालयसँग भएको बैठकमा सभापति, सचिव तथा अन्य क्याम्पसका प्रतिनिधिमार्फत प्रवेश परीक्षा केन्द्र गौरादहमै कायम गर्नुपर्ने माग अघि बढाएको थियो ।
स्ववियुको निरन्तर पहल र प्रयासपछि गौरादह कृषि क्याम्पसमै कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय भएको स्ववियु सभापति स्वर्णिम अधिकारीले बताएका छन् ।
उनले यो उपलब्धिका लागि गौरादह कृषि क्याम्पस, क्याम्पस प्रशासन, क्याम्पस प्रमुख तथा शिक्षक–कर्मचारीको समन्वय, सहकार्य र सकारात्मक पहलसमेत महत्वपूर्ण रहेको बताए ।
“गौरादहमै प्रवेश परीक्षा सञ्चालन हुनु हाम्रो लागि मात्र होइन, सम्पूर्ण पूर्वी क्षेत्रका विद्यार्थीका लागि विशेष उपलब्धि हो,” स्ववियु सभापतिले भने, “यसले विद्यार्थीको समय र खर्च बचाउनुका साथै काठमाडौँसम्म पुग्नुपर्ने झन्झटसमेत कम गर्नेछ ।”
प्रवेश परीक्षा केन्द्र गौरादहमै कायम भएपछि कोशी तथा मधेस प्रदेशका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ । यसबाट विशेषगरी पूर्वी क्षेत्रबाट कृषि तथा पशु विज्ञान अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थी लाभान्वित हुनेछन् ।



