लर्डबुद्धमा एमबिए ईन एआई र डिजिटल लिडरसिप शैक्षिक कार्यक्रमको सुरुवात

काठमाडौँ /२३ साउन – लर्डबुद्ध एजुकेशन फाउण्डेशनले एमबिए ईन एआई (आर्टिफिसियल इन्टेलिजेन्स) र एमबिए इन डिजिटल लिडरसिप शैक्षिक कार्यक्रमको सुरुवात गरेको छ । बदलिँदो प्रविधिको विकाससँगै उच्च व्यवस्थापकीय पक्षदेखि तल्लो तहको जनशक्तिलाई सहज बनाउने उदेश्यले यो शैक्षिक कार्यक्रमको सुरुवात गरेको हो ।


कलेजले मलेसियाको ’एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन’ बाट सम्बन्धन लिएको र नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरी कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । पाठ्यक्रम सञ्चालनका लागि फाउण्डेशनले ’डीएलए कन्सल्टिङ’ सँग सहकार्य गरेको जनाएको छ ।


लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले एकातिर बेरोजगारको समस्या र अर्कोतिर बजारको मागजस्तो दक्षजनशक्ति नपउने अवस्थामा एआईसँग जोडेर पढाउनुपर्ने आवश्यकता देखिएकोले यो कार्यक्रममको नेपालमै पहिलोपटक सुरुवात गरिएको बताए ।


एआईका कारणले २०३० सम्म जबस्किलमा धेरै परिवर्तन हुने अनुसन्धानले देखाएको उल्लेख गर्दै बैङ्किङ, व्यापार, व्यवस्थापन, डेटा विश्लेषण, प्रतिवेदन निर्माणदेखि दैनिक कार्यालयका कामसम्म अपरिहार्य बन्दै गएको उनको भनाई छ ।


जालानले जागिर गरिरहेका विद्यार्थीलाई ध्यानमा राखेर ६० क्रेडिटको दुई वर्षे कोर्स निर्माण गरिएको र शनिवार र आइतवार मात्रै पढाई हुने जानकारी दिए । विद्यार्थीलाई एआई सफ्टवेयर विकास गर्ने प्राविधिक ज्ञान मात्र दिनु नभई बजारमा उपलब्ध एआई उपकरण र समाधानलाई व्यवसाय तथा वास्तविक जीवनमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने नेतृत्व क्षमता विकास गर्नु पनि उनले बताए ।


कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक प्रकाश केजरीवालले फाउण्डेशनले निकट भविष्यमै नेपालमा भौतिक एआई सर्भर ल्याब स्थापना गर्ने तयारीसमेत गरेको जनाए । विदेशबाट एआई सर्भर ल्याएर विद्यार्थीलाई आफ्नै पूर्वाधारमा एआईसम्बन्धी अभ्यास, परीक्षण र अनुसन्धान गर्ने वातावरण उपलब्ध गराइने फाउण्डेशनको योजना छ ।