काठमाडौँ /१८ साउन – पाठ्यक्रम विकास केन्द्रले नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम नयाँ शैक्षिक सत्रबाट पठनपाठनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्नेभएको हो ।
केन्द्रले सामाजिक अध्ययन विषयको कक्षा ४-१२ को पाठ्यक्रम अनुसार विकास गरिएका कक्षा ५, ८, १० र १२ का पाठ्यपुस्तक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णय तथा शिक्षा तथ खेलकुद मन्त्रालयको बैशाख ११ गतेका निर्णय अनुसार शैक्षिक सत्र २०८४ देखि पठनपाठनमा ल्याइने जनाएको छ ।
उक्त पाठ्यपुस्तकहरू पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ को सिफारिस र तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयानुसार स्वीकृत भएका हुन् ।
यसैगरी आधारभूत तह कक्षा १-३ सम्मका तथा प्रारम्भिक बालविकासका परिमार्जित पाठ्यक्रम २०८४ देखि लागू गरिने जनाएको छ ।




