काठमाडौँ /१६ साउन – नेपालको विद्यालय तहको पाठ्यक्रमलाई अब गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने तथा समयानुकूल बनाउनु पर्ने भन्दै अहिलेका शिक्षामन्त्री सस्मित पोखरेलले कार्यदल बनाएर पाठ्यक्रम प्रारूप निर्माण गर्न निर्देशन दिएका छन् ।
कार्यदलले विभिन्न उपसमिति बनाएर विद्यालय शिक्षाको पाठ्यक्रमका सवालमा सुझाब सङ्कलनका लागी छलफल गरिरहेको छ ।
पाठ्यक्रमलाई पुनर्विचार गर्ने भनेको सबै कुरा भत्काउने कुरा होइन नकि पूर्ण रूपमा नयाँ बनाउने नै हो । साथै चार महत्वपूर्ण पक्ष सुधार गर्ने कुरा हो । जस्तै के पढाइन्छ, के छुटिरहेको छ, शिक्षकलाई कस्तो सहयोग चाहिन्छ, र अभिभावकलाई तथा बदलिँदो समयलाई कसरी समेटिन्छ । पेडागोजी (शिक्षण र सिकाई क्रियाकलाप) र सिकाईको मूल्याङ्कन कसरी गरिन्छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण छ ।
१. कम पढाऔँ , र पठन वस्तु सान्दर्भिक बनाएर गहिरो तरीकाले बुझाऔँ
आजका विद्यार्थीले धेरै सामग्री त पढ्छन्, तर सतही भएको कारणले गहिरो रूपमा बुझ्दैनन् । पाठ्यपुस्तकहरू भरिएका छन्, तर विद्यार्थीहरूले प्रायः परीक्षा लागि केही तयारी गर्छन् र केही समयमै बिर्सन्छन् । अझ चिन्ताजनक कुरा के छ भने, विद्यार्थीहरूको ध्यान दिने क्षमता र स्मरण शक्ति पनि घट्दै गएको छ, जसले शिक्षक र अभिभावक दुवैलाई चिन्तित बनाएको छ ।
के परिवर्तन गर्नुपर्छ ?
क) गणित, सामाजिक र विज्ञानमा केही पठन सामग्री घटाउने
विशेषगरी पठन विषयवस्तुको मात्रा करिब एक चौथाइ घटाउने । अनावश्यक दोहोरिने अभ्यास र अत्यधिक विवरण हटाउने । गणित, सामाजिक र विज्ञानमा सिकाईको उद्देश्य प्राप्ति हुनेगरी पद्दतिमा महत्त्व दिई पठन संस्कृति चाहि बढाउने । यो “बरु कम पढाऔँ, बढी सिकाऔँ ” भन्ने सोचले गहिरो बुझाइ विकास गर्न मद्दत गर्छ तर शिक्षक तथा विद्यार्थीले लगाउने मेहेनत घटाउने चैँ होइन ।
ख) भाषा शिक्षालाई व्यवहारिक बनाउने
अहिले भाषा विषयहरू जस्तै नेपाली, अङ्ग्रेजीका पाठ्यपुस्तकमा कथा, कविता, जीवनी आदि बढी छन् । यसलाई सन्तुलित गरी करिब ७०% विषयवस्तु दैनिक प्रयोग हुने सीपहरूमा र विशेषगरी सञ्चार सीपमा लगाउने जस्तै स्पष्ट लेख्ने, आत्मविश्वासका साथ बोल्ने, सुन्ने सीप र वास्तविक जीवनमा बढी प्रयोग हुने भाषाका कार्यहरू जस्तै वेबसाइटमा भएका जानकारीहरू पढ्ने, उपयुक्त पोडकास्ट सुनी बुझेको कुरा प्रस्तुत गर्ने, फारम भर्ने, निवेदन । बाँकी ३०% साहित्य र संस्कृतिका लागि राख्ने ।
आजको विश्वमा व्यवहारिक सञ्चार सीपलाई बढी महत्व दिइन्छ । विद्यार्थीलाई दुवै चाहिन्छ, तर अहिले एकोहोरो कथा कविता निबन्ध मात्र पढाउने गरेर हुन्न ।
ग) हातले गर्ने परियोजना बढाउने
गणित, विज्ञान, सामाजिक अध्ययन, प्रविधि, पर्यटन, कृषि, उद्यमशीलता जस्ता विषयमा साना वास्तविक परियोजनाहरू समावेश गर्ने जहाँ विद्यार्थीले बनाउँछन्, परीक्षण गर्छन् र समाधान खोज्छन् । यसरी सिकाई जीवनसँग जोडिन्छ । अनुसन्धानले पनि देखाएको छ विद्यार्थीले प्रयोग गरेर सिकेको कुरा लामो समयसम्म सम्झन्छन् र उनीहरूमा सीप विकास हुन्छ ।
२. जीवनका लागि आवश्यक कुरा सिकाऔँ
विद्यालयले विद्यार्थीलाई परीक्षाका लागि प्रायः तयार पार्छ, तर जीवनका लागि कमै छ। हुन त समय तालिका अनुसार काम गर्ने, पढाई लेखाईका बानी विकास त गरेको छ तर वास्तविक व्यवहार कौशलको धेरै कमी छ अहिलेको पाठ्यक्रममा ।
के परिवर्तन गर्नुपर्छ ?
क) जीवनोपयोगी सीपहरू समावेश गर्ने जस्तै बजेट बनाउने
डिजिटल बैंकिङ सुरक्षित तवरले प्रयोग गर्ने, भावनात्मक सन्तुलन, आधारभूत नैतिकता र आचरण आदि ।
यी सबै वयस्क जीवनका आधारभूत सीप हुन्, तर विद्यालयमा प्रायः सिकाइएको छैन ।
ख) नेपालका सम्भावनासँग जोड्ने
कृषि, जडीबुटी, पर्यटन, हस्पिटालिटी जस्ता क्षेत्रमा पाठ्यक्रम जोड्ने। यी क्षेत्रमा नेपालसँग प्राकृतिक अवसर छ । यी क्षेत्रहरू समावेश हुने गरी विषयहरू थप घट गरे विद्यार्थीले आफ्नै देशभित्र सम्भावना देख्न सक्ने पाठ्यक्रम बन्ने छ ।
ग) कक्षा ८ पछि प्राविधिक र व्यावसायिक मार्गका शिक्षालाई आकर्षक बनाउने
पर्यटन, कृषि, हर्टीकल्चर, हस्पिटालिटी , साहसिक गतिविधि (ट्रेकिङ, ¥याफ्टिङ) मा विशेष ध्यान । अहिले व्यावसायिक शिक्षा “कमजोर विद्यार्थीको विकल्प” जस्तो देखिन्छ । यो बदल्नुपर्छ । प्राविधिक र व्यावसायिक मार्गका शिक्षण संस्थालाई सहयोग जस्तै कर छुट, पूर्वाधार सहयोग, उपकरणका लागि अनुदान र विद्यार्थीलाई सहयोग जस्तै शुल्क छुट, छात्रवृत्ति, भत्ता (स्टाईपेन्ड)को प्रबन्ध गर्ने । जर्मनी र स्विजरल्याण्डले देखाएका छन् कि सही लगानीले व्यावसायिक शिक्षा सम्मानित र राम्रो आम्दानीको बाटो बन्न सक्छ । नेपालले सीपमूलक र सक्षमतामा आधारित शिक्षा भनेर जत्ति नीतिमा लेखे पनि व्यवहारमा पाठ्यक्रममा ल्याईनुपर्छ ।
३. शिक्षकलाई आवश्यक सहयोग दिऔँ
पाठ्यक्रम राम्रो भए पनि शिक्षक तयार छैनन् भने काम हुँदैन। धेरै शिक्षकहरू अझै पुरानो व्याख्यान र रटन्ते परीक्षामा आधारित प्रणालीमा मात्र अभ्यस्त हुनु नै सोचिएको परिवर्तनका बाधक हुन सक्छन् ।
के परिवर्तन गर्नुपर्छ ?
क) शिक्षक तालिम सुधार गर्ने र बढाउने
प्रयोगात्मक, अनुसन्धानमा आधारित, परियोजनामा आधारित शिक्षणमा तालिम दिने । सिकाई वास्तवमा कसरी हुन्छ भन्ने तालिम दिने ।
ख) एक पटकको तालिम होइन, निरन्तर सहयोग
विद्यालयमै आधारित निरन्तर प्रशिक्षण र मार्गदर्शनको व्यवस्था आवश्यक छ र शिक्षक हरेक तिन वा पाँच वर्षमा सिकाई अद्यावधिक गरिनु पर्ने आवश्यकता छ । एक पटकको तालिमले व्यवहार परिवर्तन हुँदैन ।
४. अभिभावकलाई शैक्षिक गतिविधिको साथमा ल्याऔँ
निरन्तर मूल्याङ्कन प्रणाली (विशेष गरी कक्षा ५ सम्म) ले धेरै शिक्षक तथा अभिभावकलाई अलमलमा पारिरहेको छ । साथै पाठ्यक्रममा ल्याउन खोजिएका र ल्याइएका परिवर्तनहरूको विषयमा र अभिभावकको भूमिकाको लागि प्रस्ट पार्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने छ ।
के परिवर्तन गर्नुपर्छ ?
क) रिपोर्ट कार्ड होइन, संवाद यस्तो अन्तरक्रिया जहाँ शिक्षक र अभिभावकले विद्यार्थीको वास्तविक काम हेरेर छलफल गर्छन् । नबुझेको प्रणालीलाई कसैले समर्थन गर्न सक्दैन ।
ख) अभिभावक अभिमुखीकरण कार्यक्रम विद्यालय र स्थानीय तहबाट सरल प्रशिक्षण गरी घरमा कसरी सहयोग गर्ने, नम्बर बिना प्रगति कसरी बुझ्ने ।
पाठ्यक्रम सुधारका लागि निष्कर्ष : सन्तुलित र यथार्थपरक बाटो
यी परिवर्तनहरू कुनै पनि अति क्रान्तिकारी होइनन् । विश्वका धेरै देशमा सफलता पूर्वक लागु भएका छन् । असफलता पनि छन् जहाँबाट सिक्न सकिन्छ । शिक्षा पेशालाई आकर्षक र शिक्षकमा लगानीको विकल्प छैन । सँगसँगै केही चुनौतीहरू पनि छन् :
— पाठ्यक्रमबाट विषयवस्तु÷सामग्री घटाउँदा आवश्यक कुरा हट्न सक्छ,
— कमजोर व्यवस्थापनले व्यावसायिक शिक्षा कमजोर बनाउन सक्छ,
— सही तालिम तथा उत्प्रेरणा बिना शिक्षा, सिकाई र निरन्तर मूल्याङ्कन अन्यायपूर्ण र अपरिपक्व हुन सक्छ
— अभिभावकलाई समेटिएन भने प्रणाली असफल हुन्छ
— विशेष ध्यान दिनु पर्ने कुरा आगामी पुस्तालाई बुझी उपयुक्त शिक्षण विधिको प्रयोगले मात्र पाठ्यक्रमका कमजोरी पनि हटाई शिक्षालाई बढी सान्दर्भिक बनाउन सक्छ ।
तर सफलताका लागि सावधानी, सहकार्य र निरन्तर सुधार आवश्यक छ । यदि शिक्षालाई राज्यले विशेष प्राथमिकतामा राख्ने हो भने सम्भव छ ।
(लेखक कुमार थापा, शिक्षक तथा प्रशिक्षक हुन् )



