विद्यालयले आफ्नो अनुकुलता अनुसार नजिता प्रकाशन गर्न सक्ने

काठमाडौं/१३ बैशाख–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नर्सरीदेखि कक्षा ९ सम्मको परीक्षा चैत ५ गतेसम्म सक्न निर्देशन दियो ।
विद्यालयहरुले पनि सरकारको निर्देशनलाई पालना गर्दै वार्षिक परीक्षा सम्पन्न गरे । परीक्षा सम्पन्न त भयो । तर, सरकारले कोरोना भाइरसको बढ्दै गएको जोखिमलाई ध्यानमा राखी चैत ११ गतेबाट लकडाउन घोषणा ग¥यो । लकडाउन भएसँगै विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले वार्षिक परीक्षाको नतिजा प्राप्त गर्न सकेनन् । एक महिना लामो लकडाउनका कारण विद्यार्थीहरुले वार्षिक परीक्षाको नतिजा प्राप्त गरेका छैनन् भने नयाँ शैक्षिक सत्र समेत शुरु हुन सकेको छैन । परीक्षा दिएको एक महिना बढी भइसक्दा पनि विद्यार्थीहरुले नतिजा हात पार्न सकेका छनैनन् ।
यस्तो विषम परिस्थितिमा अभिभावकलाई विद्यालयमा बोलाएर नतिजा वितरण गर्न सकिँदैन । यसको एउटा मात्र समाधान भनेको अनलाइन नतिजा प्रकाशन गर्नु हो । तर, अधिंकाश विद्यालयमा प्रविधिको पहुँच पुगेको छैन, विशेषगरी सामुदायिक विद्यालयमा । प्रविधिको राम्रो पहुँच भएका केही निजी विद्यालयहरुले भने अनलाइन नतिजा प्रकाशित गरिसकेका छन् भने केही गर्ने तयारीमा रहेका छन् । तर, प्रविधिको पहुँच नभएका सामुदायिक विद्यालय तथा निजी विद्यालयहरुले भने नतिजा प्रकाशन गर्न सकेको छैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै विद्यार्थीको नजिता प्रकाशन गर्न भनेको छ । केन्द्रका महानिर्देशक डा.तुलसी थपलियाले विद्यालयहरुले आफ्नो अनुकुलता अनुसार नजिता प्रकाशन गर्न सक्ने बताए ।
लकडाउनको समयमा विद्यार्थीहरुको पठनपाठनलाई भने विद्यालयहरुले निरन्तरता दिइरहेका छन् । अधिकांश निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि विशेष गरी एसईईको तयारी गरिरहेका र अन्य विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो मार्फत कक्षा सञ्चालन गरिरहेको छ ।