काठमाडौँ/२० वैशाख – मुलुकको आर्थिक विकास गर्न “मानवीय स्रोतको विकास” र “उत्पादनमा बृद्धि” हुनु अनिवार्य छ भन्ने कुरा गरिबीबाट उठेका एसियाका विकसित तथा विकासशील मुलुकहरू जस्तो दक्षिण कोरिया, सिंगापुर, भियतनाम, चिन आदिले प्रमाणित गरेका छन् । यी दुई क्षेत्रहरू (मानवीय स्रोतको विकास” र उत्पादनमा बृद्धि)मध्ये पनि पहिलो मानवीय स्रोतको विकास अनिवार्य छ, किनकि उत्पादन बृद्धि गर्न सर्वप्रथम सिपयुक्त जनशक्ति तयार गर्नु आवश्यक छ । उदाहरणको लागि सन् १९६५मा सिंगापुर मलेसियाबाट छुटिएपछि आर्थिक विकासका लागि सिंगापुरले उद्योगहरू स्थापना गरी उत्पादन बृद्धि गर्नमा र मुलुकको लागि आवश्यक मानवीय स्रोतको विकासमा जोड दियो । फलरूस्वप पछिल्लो कार्य (मानवीय स्रोतको विकास)को लागि सिंगापुरले शिक्षा क्षेत्रमा कुल वार्षिक बजेटमध्ये २८.८५ छुट्याइयो ।
त्यस्तै उन्नाइस सय साठीको दशकमा गरिबीसँग लड्दै गरेको दक्षिण कोरियाले पनि आर्थिक विकासको लागि उत्पादन बृद्धि र मानव स्रोत विकासमा जोड दिएको थियो । फलस्वरूप मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्ने शिक्षा क्षेत्रको लागि प्रथम पञ्चवर्षीय योजना (१९६२–१९६६)मा कुल वार्षिक बजेटमध्ये १२ प्रतिशत छुट्याइएकोमा दोस्रो पञ्चवर्षीय योजना (१९६७–१९७१) मा १७ प्रतिशत पु¥याएको थियो । चीनमा सन् १९७८मा देङ सियाओपिङ सत्तामा आएपश्चात आर्थिक क्षेत्रमा उल्लेखनीय रूपमा प्रगति भएको थियो । यसको मूल कारण कृषि तथा उद्योग र विज्ञान तथा प्रविधि (शिक्षा)मा जोड दिइएको थियो । त्यस्तै सन् १९८६ पछि भियतनामको आर्थिक विकासको कारण पनि तात्कालिन सरकारले उत्पादन बृद्धि तथा मानव स्रोत विकासमा प्राथमिकता दिनु हो ।
नेपाल एउटा कृषि प्रधान मुलुक भएको नाताले मुलुकको आर्थिक विकास गर्न प्रथमतः कृषि उत्पादनमा बृद्धि गर्नुपर्छ र कृषिमा आधारित उद्योगहरू स्थापना गरी सञ्चालनमा ल्याउनु पर्दछ । यी दुबैका लागि उच्चतहको सीपयुक्त जनशक्ति आवश्यक छ । त्यसकारण मुलुकमा सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न आवश्यक मात्रामा बजेटको व्यवस्था गरी शैक्षिक कार्यक्रमहरू निर्माण गर्नु पर्दछ । तर हाल मुलुकमा सञ्चालित उच्चशिक्षाका शैक्षिक कार्यक्रमहरूले आवश्यक जनशक्ति तयार गर्न सकेका छैनन्, र आवश्यक बजेटको व्यवस्था पनि गर्न सकेको छैन । साथै कृषि तथा अन्य आवश्यक वस्तुहरू उत्पादन गर्न उद्योगहरू खोल्नमा पनि सरकारले ध्यान दिएको देखिँदैन । फलस्वरूप वर्षेनी शैक्षिक बेरोजगारी सङ्ख्यामा बृद्धि हुने व्रmमसँगै उच्चशिक्षाका लागि विदेशीने विद्यार्थी सङ्ख्या पनि बृद्धि हुँदै आएको कुरा तथ्याङ्कले देखाउँछ ।
१. उच्चशिक्षाका लागि विदेशीने विद्यार्थी सङ्ख्याको वर्तमान स्थिति तथा बाहिरिने पुँजी
सन् २०२०र२१ मा “नो अव्जेकसन लेटर” लिएको आधारमा उच्चशिक्षाको लागि २७,९०० जना विद्यार्थी विदेशमा गएका थिए र यसको लागि २४ अरब ९६ करोड रुपैयाँ बाहिर गएको तथ्याङ्क नेपाल राष्ट्र बैँकले देखाएको छ । यो रकम उक्त आर्थिक वर्षको उच्चशिक्षाको लागि छुट्याइएको कुल बजेटसँग तुलना गर्दा झन्डै ७० प्रतिशत हुन आउँछ र प्रति विद्यार्थी सालाखाला ८,९४,६२३ रुपैयाँ पर्न आउँछ ।
सन् २०२०र२१ पछिका वर्षहरूमा उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थी सङ्ख्यामा निकै बृद्धि भएको छ । सन् २०२१र२२ देखि २०२४र२५ सम्म प्रति वर्ष सालाखाला ११३,५०० विद्यार्थीहरू विदेशीएका छन् भने सोही अवधिमा प्रति वर्ष सालाखाला रु.१,०७,९९,७५,०००००।– (एक खरब, सात अरब, उन्नासय करोड, पचहत्तर लाख) रकम बाहिर गएको तथ्याङ्कले देखाउँछ, अर्थात् प्रति विद्यार्थी सालाखाला ९५१,५१९।– रुपैयाँ बाहिर गएको थियो ।
२. उच्चशिक्षाका लागि विद्यार्थी विदेशीने कारणहरू
उच्चशिक्षाका लागि हरेक वर्ष लाखौँ विद्यार्थीहरू विदेश गइरहेका छन् । यसको कारणहरू निम्न हुन् :
(क) सामाजिक प्रतिष्ठा
आजभोलि नेपाली समाजमा उच्चशिक्षा अध्ययनका लागि विदेशमा जाने वा पठाउने एउटा सामाजिक प्रतिष्ठाको विषय बनेको छ । आर्थिक रूपमा उच्च तथा मध्यमस्तरीय अभिभावकहरूले आफ्नो छोराछोरीको उच्चशिक्षाको लागि विदेशमा पठाउने कार्यलाई छरछिमेक, साथीभाई, तथा नातेदारहरूको माझमा सामाजिक प्रतिष्ठाको रूपमा लिने गरेका छन् । त्यस्तै अध्ययनको लागि जाने विद्यार्थीहरू स्वयम् पनि विदेशमा गएर अध्ययन गर्नु आफ्नो साथीहरूको सामु प्रतिष्ठाको रूपमा लिने गरेका छन् । त्यसैले अध्ययन–विषयको महत्व र त्यसपछिको रोजगारीको सम्भावनालाई भन्दा बढि सामाजिक प्रतिष्ठालाई प्राथमिकता दिई विदेशमा अध्ययन गर्न जाने र गराउन पठाउने प्रवृत्ति देखिन्छ ।
(ख) निराशाजनक सोच
“उच्चशिक्षामा सुधार आउन सकेन”, “उच्चशिक्षाको गुणस्तर खस्केको छ”, “उच्चशिक्षा समाज र मुलुकको आवश्यकता अनुरूप छैन र यसले बेरोजगारी सङ्ख्या मात्र बढाएको छ” भन्ने जस्ता आलोचनाहरू पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आउने गरिएका छन् । उच्चशिक्षा सम्बन्धी हुने गोष्ठी तथा सेमिनारहरूमा पनि सुधारका उपायहरू भन्दा बढी आलोचनाहरू आउने गरिएका छन् । यी भनाइहरू तथा आलोचनाहरू सही छन् भन्ने कुरा वर्तमान बृद्धि हुँदै गएको बेरोजगारीको तथ्याङ्कले पुष्टि गर्छ । तर यी भनाइहरूले विद्यार्थीहरूमा, अभिभावकहरूमा, समग्रमा वर्तमान समाजमा नैराश्ययता पैदा गरेका छन् । नेपालमा उच्चशिक्षा हासिल गरेर केही हुँदैन, उच्चशिक्षा हासिल गर्नु भनेको समय र पैसा मात्र बर्वादी गर्नु हो भन्ने नैराश्यजनक सोच धेरैजसो अभिभावक तथा विद्यार्थीहरूमा विकास भइसकेको छ । नेपालमा उच्चशिक्षा हासिल गरे तापनि रोजगारी पाउँदैन भन्ने सोचमा विद्यार्थी तथा अविभावकहरू पुगिसकेका छन् । यस्तै निराशाजनक सोचको कारण उच्चशिक्षाको लागि विदेशीने विद्यार्थी सङ्ख्यामा प्रत्येक वर्ष बृद्धि हुँदै गइरहेका छन् ।
(ग) प्राविधिक भन्दा साधारण शैक्षिक कार्यक्रमहरूको विस्तार
मुलुकको आर्थिक विकासका लागि उच्चस्तरीय जनशक्ति साधारण प्रकारको भन्दा प्राविधिक खालको जनशक्ति आवश्यक छ । त्यसैले सन् २०२५ सम्ममा प्राविधिक तर्फ ३० प्रतिशत विद्यार्थी सङ्ख्या पु¥याउने लक्ष राखिएको थियो, तर पु¥याउन सकेन । अहिले मुलुकमा उच्चशिक्षामा अध्ययनरत समग्र विद्यार्थीहरूमध्ये साधारतर्फ करिब ८० प्रतिशत र प्राविधिक तर्फ २० प्रतिशत विद्यार्थीहरू रहेका छन् । प्राविधिक शिक्षामा भन्दा साधारण विधामा उच्चशिक्षा हासिल गर्ने व्यक्तिहरू धेरै बेरोजगार हुन्छन् । यो स्थितिसँग सबै सरोकारवालाहरू परिचित भएर पनि मुलुकमा साधारण विधातर्फका शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि उच्च शैक्षिक संस्थाहरू स्थापना हुँदै आएका छन् । परिणामस्वरूप वर्षेनी बेरोजगारी सङ्ख्या बृद्धि हुँदै आइरहेका छन् । बेरोजगारीको यो स्थितिले उच्चशिक्षा हासिल गर्न चाहने व्यक्तिहरूलाई मुलुक बाहिर जानमा बाध्य पारेको छ ।
(घ) जनशक्तिको माग र उत्पादनबिच मेल नहुनु
मुलुकको आर्थिक विकासको लागि सामान्यतया आयातमूखी अर्थतन्त्र छोडेर उत्पादनमुखी अर्थतन्त्र समेटिनु पर्ने हुन्छ । यसको लागि कृषिमा आधारित तथा अन्य उद्योगहरू खोल्न प्राविधिक तथा व्यावसायिक जनशक्ति र विशिष्ट प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ । तर उत्पादन भएका कतिपय यस क्षेत्रका उच्चतहका जनशक्ति मुलुकको लागि आवश्यक जनशक्तिको मागसँग मेल खाँदैन । फलस्वरूप कतिपय प्राविधिक जनशक्ति पनि बेरोजगार भएको छ । उदाहरणको लागि इन्जिनियरिङ क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिहरूमध्ये २१ प्रतिशत इन्जिनियरहरू बेरोजगार भएको तथ्य अध्ययनले देखाएको छ । यी र यस्ता खालका अन्य तथ्यहरूसँग अभिभावक तथा उच्चशिक्षा हासिल गर्ने विद्यार्थीहरू परिचित छन् । त्यसैले उनीहरू उच्चशिक्षाको लागि मुलुक बाहिर जान चाहन्छन् ।
(ङ) पढाइ र कमाइको व्यवस्था
बाहिर कतिपय विश्वविद्यालयहरूमा पढाइको साथै ती विश्वविद्यालयहरूको नियमानुसार चाहेका विद्यार्थीहरूले साप्ताहिक रूपमा निश्चित घण्टा काम गर्ने सो अनुसार उक्त मुलुकको नियमानुसार पारिश्रमिक पाउने व्यवस्था छ । उक्त पारिश्रमिकको रकमले विश्वविद्यालयको मासिक शुल्क तिर्न र अन्य दैनिकी खर्चको लागि समेत सघाउँदछ । यसरी बाहिर विश्वविद्यालयहरूमा पढाइको साथै काम पाउने व्यवस्थाले गर्दा नेपाली विद्यार्थीहरू उच्चशिक्षाको लागि विदेश जान उत्प्रेरित हुन्छन् ।
(च) महँगो मासिक शुल्क
नेपालमा रोजगारको अवसर भएका कतिपय प्राविधिक विषयहरू जस्तो चिकित्सा, इन्जिनियरिङ, सूचना तथा प्रविधि, कृषि आदि विषयहरूमा मासिक शुल्क धेरै महँगो छ । मासिक शुल्कको लागि यहाँ खर्च हुने रकमले विदेशमा गएर अध्ययन गर्न पुग्ने रहेछ । त्यसैले यी विषयहरू अध्ययन गर्न चाहने विद्यार्थीहरू उच्चशिक्षाको लागि विदेश नै जाने गरेको देखिन्छ ।
(छ) बेरोजगारी
कतिपय विद्यार्थीहरू यहाँ स्नातक तह उत्तीर्ण गरेर रोजगार नपाइरहेको कारणले बाहिर उच्चशिक्षा अध्ययनको लागि भन्दा पनि कामको लागि विद्यार्थीको भिसाबाट जाने गरेका छन् । यस प्रकारका युवाहरू कुनै विश्वविद्यालयमा विद्यार्थीको रूपमा भर्ना भइ अध्ययन गर्नुको सट्टा काममा लागिरहेका हुन्छन् ।
३. उच्चशिक्षाको लागि युवालाई स्वदेशमै राख्ने उपायहरू
युवाहरूलाई विदेशमा पठाइ तिनीहरूले पठाएका रेमिट्यान्सबाट आर्थिक विकास भएको मुलुक सायद अहिलेसम्म विश्वमा छैन होला । आर्थिक विकासको लागि शिक्षित युवाहरूलाई आफ्नै मुलुकमा उनिहरूको योग्यता अनुसारको काम दिई विदेश जानबाट रोक्नु पर्छ । यसका लागि अव गठन हुने सरकारले अपनाउनु पर्ने केही उपायहरू यहाँ छोटकरीमा प्रस्तुत गरिएको छ ।
(क) तालिम कार्यक्रमहरूको परिमार्जन र सञ्चालन
हाल मुलुकको लागि आवश्यक जनशक्तिका क्षेत्रहरू पहिचान गरी ती क्षेत्रहरूमा के कस्ता खालका प्राविधिक जनशक्ति के कति मात्रामा आवश्यक छन् अध्ययन गरी निर्धारण गर्नुपर्छ । उक्त अध्ययनको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद्ले सञ्चालन गरिरहेको डिप्लोमा कार्यक्रमको पाठ्यक्रममा आवश्यक परिमार्जन गर्नुपर्छ । शैक्षिक बेरोजगारी युवाहरूलाई ऋणको व्यवस्था गरी यी परिमार्जित कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
(ख) उत्पादनमुखी शैक्षिक कार्यक्रमहरूको निर्माण तथा कार्यान्वयन
उत्पादनमुखी अर्थतन्त्रमा आधारित भएर कृषि तथा उद्योग क्षेत्रका कुन कुन उपक्षेत्रहरूमा उत्पादन गर्न सकिन्छ विज्ञहरूमार्फत ती उपक्षेत्रहरूको पहिचान र त्यसका लागि आवश्यक जनशक्तिको प्रक्षेपण गरी सो जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रमहरूको निर्माण गर्न लगाइ कार्यान्वयन गर्नुपर्छ ।
(ग) स्वदेशमै उच्चशिक्षा हासिल गर्ने उत्प्रेरणा
कक्षा १२ को नतिजा आउनु भन्दा अगाडि मुलुकको लागि कम्तीमा ५ वर्षका लागि प्राविधिक तथा व्यावसायिक जनशक्ति के कति चाहिन्छ र सो को लागि के कस्ता शैक्षिक कार्यक्रमहरू कार्यान्वयन भइरहेका छन् र हुन लागेका छन् भने जानकारी सञ्चार माध्यमबाट कक्षा १२का विद्यार्थीहरूबिच पु¥याउनु आवश्यक छ ।
(घ) प्राविधिक तथा व्यावसायिक विधामा उच्चशिक्षाको व्यवस्था
प्राविधिक तथा व्यावसायिक विद्यालयहरूबाट एसएलसी परीक्षा उत्तीर्ण गरी उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि एयथि Poly technical clloeges हरू स्थापना गरी सञ्चालनमा ल्याउनु पर्छ । काम गरेर पढ्न चाहने विद्यार्थीहरूका लागि यी कलेजहरूमा part-time कोर्सको व्यवस्था हुनु उपयुक्त हुन्छ ।
(ङ) नेपालमै उच्चशिक्षामा भएको विषय अध्ययन गर्न विदेशमा जानमा रोक
नेपालमा अध्ययन–अध्यापन भइरहेका विषयहरू (जस्तै चिकित्सा, इन्जिनियरिङ, कृषि तथा वन, सूचना तथा प्रविधि आदि) अध्ययन गर्नका लागि विदेशमा पढ्न जानमा रोक लगाउनु पर्छ ।
(लेखक प्रा.डा.प्रकाश मान श्रेष्ठ, शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रका पूर्व डीन हुन् ।)



