बालिका शिक्षा कार्यक्रमले अध्ययनप्रति प्रेरित गरेको विद्यार्थीको भनाई

गोरखा/२८ जेठ – गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको प्रगति, उपलब्धि र आगामी कार्यदिशाबारे समीक्षा गर्न सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ ।


विद्यालयको आयोजनामा तथा रुम टु रिड र युएन नेपालको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि तथा कार्यक्रमका सहभागी बालिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष कोपिला कुमाल, बालिका शिक्षा कार्यक्रमकी फोकल शिक्षक कमला पन्थ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन डा. रविन्द्र कंडेलले गरेका थिए ।


कार्यक्रममा प्रस्तुत गरिएको समीक्षा प्रतिवेदनअनुसार सन् २०२३ देखि विद्यालयमा सञ्चालन हुँदै आएको बालिका शिक्षा कार्यक्रमले बालिकाहरूको विद्यालय उपस्थितिमा सुधार, सिकाइ उपलब्धि अभिवृद्धि, नेतृत्व विकास, जीवनोपयोगी सीपको विकास तथा लैङ्गिक समानताको प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको छ ।


युएन नेपाल गोरखाका कार्यक्रम अधिकृत उमेश विश्वकर्माले सो विद्यालयमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा भएका उपलब्धीसहित तथ्यंकहरूको समेत विश्लेषण गरी प्रस्तुतिकरण गर्नुभएको थियो ।


कार्यक्रमका सहभागी छात्रा दिपिका कुमाल र कृति कुमालले आफ्ना अनुभव सुनाउँदै कार्यक्रमले आफूहरूमा आत्मविश्वास बढाएको, सार्वजनिक रूपमा बोल्न सक्ने क्षमता विकास गरेको तथा अध्ययनप्रति थप प्रेरित बनाएको बताए । उनीहरूका अनुभवले कार्यक्रममा सहभागी अभिभावक र सरोकारवालाहरूलाई भावुकसमेत बनाएको थियो ।


खुला छलफलका क्रममा सहभागीहरूले बालिका शिक्षालाई अझ प्रभावकारी बनाउन विद्यालय, अभिभावक, समुदाय र स्थानीय सरकारबीचको सहकार्य थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, किशोरीहरूका लागि नेतृत्व विकास, जीवनोपयोगी सीप र सुरक्षित सिकाइ वातावरणलाई आगामी वर्षमा अझ सशक्त बनाउन सुझावहरू प्रस्तुत गरिएका थिए ।


प्रधानाध्यापक कुमार प्रसाद ढकालले विद्यालयमा सञ्चालन भइरहेको कार्यक्रमले बालिकाहरूको शैक्षिक तथा व्यक्तिगत विकासमा उल्लेखनीय योगदान पु¥याएको बताउँदै आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।