काठमाडौँ /२० वैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय क्षेत्र सुधारका लागि सरोकावालहरुसँग छलफल गर्ने भएको छ । सङ्घ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउन र विद्यार्थी भर्ना तथा शुल्क विवादका सम्बन्धमा स्थानीय सरकार एवं सरोकारवालासँग छलफल गर्न लागेको हो ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरु तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
शैक्षिक सत्र प्रारम्भ हुने संघारमा विद्यार्थी भर्ना र मापदण्ड विपरित शुल्कबारे देखिएको अन्यौलता,वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीति बनाउन छलफल आयोजना गरिएको हो । विद्यार्थी भर्ना शुल्कमा अनियमितता र निजी विद्यालयबाट भइरहेको पछिल्लो गतिविधिलगायत विषयमा छलफल गरी अगाडिको बाटो पहिल्याउन जनप्रतिधिलाई एकै ठाउँमा बोलाईएको छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका सङ्घका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासङ्का अध्यक्ष सहभागी हुनुहुनेछ भने गृहमन्त्रालय र शिक्षा मन्त्रालयका उच्चअधिकारीको उपस्थिति रहनेछ ।



