काठमाडौँ /१८ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मेवारी जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई दिने निर्णय गरेको छ । जिल्लामा ल्याएर परीक्षण गर्ने वा परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने भन्नेबारे इकाइले नै निर्णय गर्नेगरी निर्णय गरिएको मन्त्रालयले जनाएको। छ ।
शिक्षा सचिव चूडामणि पौडेलले परीक्षा केन्द्र होम सेन्टर नभएकाले एसईईका उत्तर पुस्तिका जिल्लामा ल्याएर परीक्षण गर्ने वा परीक्षा केन्द्रमै गर्ने भन्ने बारे शिक्षा विकास तथा समन्वय इकाइले नै निर्णय गर्ने खबर एजुकेशनलाई बताए ।
उनले जहाँ परीक्षण गरेपनि एउटा विषयको उत्तरपुस्तिका परीक्षणका लागि तीन दिन समय तोकिएको र त्यो समयसीमा भित्र परीक्षण गर्ने गरी इकाइले निर्देशन दिन सक्ने जानकारी दिए ।
उनले भने “एसईईको परीक्षामा होम सेन्टरमा हुँदैन त्यसैले एसईईको उत्तरपुस्तिका जिल्लामा ल्याएर परीक्षण गर्न पनि सक्छन् वा परीक्षा केन्द्रमै पनि गर्न सक्छन् । यसमा इकाइले नै निर्णय गर्नेछ । तर एउटा विषय परीक्षणका लागि तीन दिन समय तोकेका छौँ । त्यो तोकिएको समयसीमा भित्र परीक्षण गर्नुपर्ने छ ।”
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले एसईई परीक्षा सकिएको एक महिनामा नतिजा प्रकाशन गर्नेगरी काम गर्न निर्देशन दिएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।



