छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना : प्रधानाध्यापकसहित तिन जना विरुद्ध मुद्दा

काठमाडौँ/१६ चैत – छात्रवृत्ति र दिवाखाजाको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखा सहायक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँका स्थित गणेश माध्यमिक विद्यालयका अध्यक्ष तिल प्रसाद भट्टराई, प्रधानाध्यापक नरेन्द्र बहादुर महत र लेखा सहायक कृष्ण कामी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।


उनिहरुले छात्रवृत्ति वापतको रकम विगत ५ वर्षदेखि वितरण नगरेको र दिवाखाजा वापतको रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।


आर्थिक वर्ष २०७९÷०८० मा प्राप्त छात्रवृत्ति रकम वितरण गरिएको भनी बनाएको भरपाईमा नाम भएका छात्राहरूलाई वितरण नगरी हिनामिना गरी एक आपसमा मिलेमतो गरी झुट्टा भरपाईलाई पुनः किर्ते गरी मिति सच्याई छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भरपाई तयार गराएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।


विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र लेखा सहायकले गैरकानुनी लाभ लिने बदनियतले कार्य कसुर गरेकोले उल्लिखित कार्य कसुरमा संलग्न प्रतिवादीहरु उपर सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।