काठमाडौँ /१३ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात गर्दै, गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवद्र्धनमा पूर्ण प्रतिबद्धताका साथ लाग्ने बताएका छन् ।
आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा युवा तथा खेलकुद मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे पछि समाजिक सञ्जाल मार्फत नेपाली जनताको विश्वास सबैभन्दा ठूलो शक्ति भएको र सो विश्वासलाई कहिल्यै टुट्न नदिने संकल्प गरेका हुन् ।
साथै एकै साथ दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नु र नेपाल सरकारको प्रवक्ताजस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान हुनु आफ्ना लागि ठूलो अवसर र चुनौती रहेको उनको भनाई छ ।
यो जिम्मेवारीलाई मैले केवल पदका रूपमा होइन, राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण, साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण गरेको छु । विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात गर्दै, गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवद्र्धनमा पूर्ण प्रतिबद्धताका साथ लाग्ने प्रण गर्दछु उनले भनेका छन् ।
हेर्नुहोस उनको भनाई
आदरणीय आमा–बुबा/दाजु–भाइ/दिदी–बहिनीहरू,
आज मैले सम्माननीय राष्ट्रपतिज्यूबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा युवा तथा खेलकुद मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छु । एकै साथ दुई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नु र नेपाल सरकारको प्रवक्ताजस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान हुनु मेरा लागि एकैसाथ ठूलो अवसर र चुनौती हो । यसका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो दल र दलको नेतृत्व तथा सरोकारवाला सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।
यो जिम्मेवारीलाई मैले केवल पदका रूपमा होइन, राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण, साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण गरेको छु । विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात गर्दै, गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवद्र्धनमा पूर्ण प्रतिबद्धताका साथ लाग्ने प्रण गर्दछु ।
वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन, र प्रविधिको प्रभावकारी उपयोगमार्फत राष्ट्र निर्माणमा टेवा पु¥याउनेछु। साथै, युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई सही दिशामा परिचालन गर्दै उद्यमशीलता, रोजगारी र नेतृत्व विकासका अवसरहरू विस्तार गर्नेछु। खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभाको पहिचान र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्न दृढताका साथ अघि बढ्नेछु ।
सम्पूर्ण नेपाली जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। त्यो विश्वासलाई कहिल्यै टुट्न नदिने संकल्पका साथ, पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नेछु । संवाद, सहकार्य र समन्वयमार्फत शिक्षा, विज्ञान, प्रविधि तथा युवा र खेलकुद क्षेत्रको समग्र रूपान्तरणमा इमान्दारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
ममाथि विश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा पुनः सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यवाद । जय देश !
सस्मित पोखरेल
मन्त्री,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा युवा तथा खेलकुद मन्त्रालय
एवं प्रवक्ता
नेपाल सरकार



