सस्मित पोखरेल बने शिक्षामन्त्री

काठमाडौँ /१३ चैत – प्रतिनिधि सभा सदस्य सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित पोखरेललाई शिक्षा मन्त्रीमा नियुक्त गरिएको हो ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता पोखरेलललाई बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो । अमेरिकाबाट प्रारम्भिक र प्लस टु तहको शिक्षा पूरा गरेर नेपाल फर्किएका उनले काठमाडौँ विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।


काठमाडौँ महानगरमा रहेर बालेन शाहको नेतृत्वमा उनले महानगरपालिकामा शिक्षा सहायक विज्ञ र सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरेका थिए । साथै महानगरमा बसेर कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई पारदर्शी ढंगले छात्रवृत्ति वितरण गर्ने कार्यको नेतृत्व गरेका थिए ।