विशेष प्रकृतिका विद्यार्थीलाई होम सेन्टरमा परीक्षा दिँदा सहजता महसुस

काठमाडौँ /६ चैत – आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुने, अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई होम सेन्टरमा परीक्षा दिँदा सहजता महसुस गरेको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् । आज यस्ता विद्यार्थीहरुको परीक्षाको अनुगमन गर्दै उनले यस्तो बताएकी हुन् ।


विन्डी हाउस विशालनगर एउटै स्कूलमा ३ जना विशेष अवस्थाका विद्यार्थीहरु परीक्षामा सहभागी छन् । अनुगमनका क्रममा परीक्षा सकेपछि परीक्षार्थीसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले, विद्यार्थीहरुको रुचि, परीक्षा लेख्दाको सहजता लगायत विषयमा अन्तरक्रिया गरेकी थिइन । कुराकानीमा विद्यार्थीहरुले अंग्रेजी भाषामा बोल्न सहज मानेका थिए ।


उनले विद्यालयका सञ्चालक र शिक्षकहरुसँग शैक्षिक क्रियाकलाप, अभिभावकको मनोविज्ञान, उहाँहरुको अपेक्षा र यस्ता विद्यार्थीहरुको सिकाइका लागि स्थानीय सरकारसँगका अपेक्षाका विषयमा कुराकानी गरिन ।


विशेष प्रकृतिका विद्यार्थीका लागि छुट्टै शैक्षिक वातावरण चाहिने भएकोले महानगरपालिकाले यस प्रकारका शिक्षण संस्था सञ्चालनका विषयमा योजना बनाउँदै गरेको डंगोलको भनाइ छ ।


बालबालिकाका लागि सिकाइ र मूल्याङ्कनका राष्ट्रिय परीक्षा वोर्ड, पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर छुट्टै मापदण्डमा काम गर्नु पर्ने अवस्था रहेको उनको भनाई छ ।


शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइने व्यवस्था छ । यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन् । होम सेन्टरमा परीक्षा दिए पनि उत्तरपुस्तिका तोकिएको स्रोत केन्द्रमा बुझाउनु पर्ने परीक्षा समितिका अध्यक्ष एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले बताए ।


विकासात्मक अपाङ्गता भएका बालबालिकालाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन् । महानगरपालिकाले तयार पारेको प्रश्नपत्रबाट विकासात्मक अपाङ्गता वा विशेष प्रकृतिका बालबालिकाहरुले परीक्षा दिन नसक्ने भएमा विद्यार्थीको सिकाइ प्रकृतिका आधारमा विद्यालयले उपयुक्त मूल्याङ्कन मापदण्ड तयारी गरी विद्यार्थी मूल्याङ्कन गरेर प्राप्ताङ्क सम्बन्धित स्रोत केन्द्रमा बुझाउनु पर्नेछ । यसरी परीक्षा लिँदा पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टिकरण तालिकाको परिधिभित्र हुनु पर्नेछ ।