काठमाडौँ/६ चैत – सामाजिक विषयको उत्तरपुस्तिका परीक्षणमा धेरै त्रुटि गरेको पाइएपछि राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण सम्बन्धी तालिम सञ्चालन गरेको छ । उत्तरपुस्तिका परीक्षण र प्रश्नपत्र निर्माणमा एकरूपता कायम गर्ने उदेश्यले सामाजिक विषयका शिक्षकहरूका लागि तालिम सञ्चालन गरेको हो ।
सामाजिक विषयमा धेरै विद्यार्थी फेल हुने गरेको र क्रस चेक गर्दा विद्यार्थीले प्राप्त गरेको अंकमा ठुलो भिन्नता हुने गरेको पाइएपछि बोर्डले त्यसलाई कम गर्न विषय शिक्षकहरूलाई प्रशिक्षण दिएको छ ।
शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका पूर्व डिन प्रा.डा प्रकाशमान श्रेष्ठले २०८० सालको एसईई परीक्षामा सामाजिक विषयमा धेरै विद्यार्थी फेल भएको उल्लेख गर्दै कुन प्रदेशको कुन जिल्ला, कुन जिल्लाको कुन पालिका, कुन पालिकाको कुन विद्यालय र कुन कुन विद्यालयका कुन विद्यार्थी के कारणले फेल भए भनेर अनुसन्धान गर्दा प्रश्नपत्र निर्माणमा र उत्तरपुस्तिका परीक्षणमा समस्या भएको भेटिएको बताए । उनले यसैका आधारमा शिक्षकहरूलाई प्रशिक्षण दिएको प्रस्ट पारे ।
श्रेष्ठले तालिम नलिएका शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न नदिने हो भने यस्ता समस्या कम आउने बताउँदै परीक्षण सङ्ख्या आवश्यकता अनुसार तालिम दिएर अगाडी बढ्नुपर्नेमा जोड् दिए । साथै सामाजिक अध्ययनका विषयमा ४५० जति उत्तरपुस्तिका परीक्षक आवश्यकता रहेकोमा २५० जनालाई तालिम दिएको बताए ।
“सामाजिक विषयको उत्तरपुस्तिका परीक्षणमा भिन्नता धेरै आएकोले त्यसलाई कमी गर्न तथा उत्तरपुस्तिका परीक्षण गर्दा विश्वसनीयता कसरी बनाउने, भिन्नतालाई कसरी कम गर्ने, कस्तोलाई कति नम्बर दिने लगायतका विषयमा शिक्षकलाई सिकाउन प्रशिक्षण सञ्चालन गरिएको हो” उनले भने ।
यसैगरी पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विशिष्टीकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्दा समस्या हुने गरेको गुनासो धेरै आएको शिक्षाविद् श्रेष्ठले बताए । त्यसरी तालिका अनुसार ज्ञान तह, बोध तह, प्रयोग तह र उच्च दक्षताका प्रश्नपत्र निर्माण गर्दा प्रश्न सङ्ख्या र अंकभारलाई सन्तुलित गर्न कठिन हुने गरेकोले उत्तरपुस्तिका परीक्षणमा एकरूपता आउन कठिन हुने समेत उनको भनाई छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंग बहादुर अर्यालले प्रश्नपत्र निर्माण गर्दा जति ग्रिड मिल्नुपर्ने थियो त्यो नमिलेको देखिएको बताउँदै फरक संकाय र फरक विषयका शिक्षकले पढाउने गर्दा त्यस्ता समस्या देखिएको दाबी गरे ।
उनले अहिले आफ्नो प्राप्त नम्बरमा चित्त नबुझे विद्यार्थीलाई कपि नै हेर्न दिने र पुन परीक्षणसम्म गर्न पाउने व्यवस्था रहेकोले करियरमा दाग नलाग्ने गरी संवेदनशील भएर उत्तरपुस्तिका परीक्षण गर्न विषय शिक्षकहरूसँग आग्रह गरे । साथै उत्तरपुस्तिका परीक्षणमा लापर्बाही गरेको भेटिए शिक्षकको नामसहित परीक्षण गरेको उत्तरपुस्तिका बोर्डको वेभसाईडमा सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले सामाजिक विषयको उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र प्रश्नपत्र निर्माणमा धेरै त्रुटि हुने गरेको बताए । “सामाजिक विषयमा धेरै क्षेत्र समावेश गरिएकोले उत्तर पुस्तिकामा एकरूपता कसरी कायम गर्ने भनेर नै उत्तरपुञ्जिका निर्माण गरिएको हो । एउटा त्रुटि बोर्डका लागि सानो हुन सक्छ, तर एउटा विद्यार्थीका लागि शतप्रतिशत हुन्छ । त्यसैले ग्रिड अनुसार प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा सजग हुनु पर्छ” सहभागी शिक्षकलाई भने ।
बोर्डको उत्तरपुस्तिका परीक्षण सम्बन्धी विषयगत शिक्षकलाई आज र भोलि प्रशिक्षण दिने तालिका छ ।



